• १७ असार २०८१, सोमबार

काठमाडौँ महानगरले सडक सुरक्षा परीक्षण गर्ने

blog

काठमाडौँ, कात्तिक २६ गते । काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अग्नि नियन्त्रकका लागि सुरु भएको दुईदिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै सडक सुरक्षा परीक्षण गरिने बताउनुभएको हो । 

उहाँका अनुसार सडक, यातायात र ट्राफिक व्यवस्थापनमा काम गर्ने कार्यालय, सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारबारे पनि पुनर्विचार गर्नुपर्ने देखिएको छ । जसलाई जे अधिकार हुनुपर्ने हो ? त्यो अधिकार प्राप्त नहुनु, कसले के काम गरिरहेको छ, आपसमा थाहा नहुनुले नतिजा मापन गर्न सकिएको छैन । यसका लागि महानगरले सडक सुरक्षा परीक्षण योजना बनाएको हो । यसले तथ्यमा आधारित नीति निर्माणमा टेवा दिनेछ । 

विश्व बैङ्कको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १.५ प्रतिशत आर्थिक क्षति व्यहार्नुपरेको छ । नेपाल दक्षिण एसियाली मुलुकहरूमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्येको एक हो । दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुनेलगायतका क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकलयात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनुपर्ने सूचक छ । 

सडक सुरक्षा परिषद्का सल्लाहकार सरोज प्रधानले महानगरको सडक सुरक्षा परीक्षण योजनाबाट महत्वपूर्ण सूचना प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले गर्नैपर्ने र सडक सुरक्षाको वस्तुगत स्थितिको जानकारी दिने ‘सेफ्टी अडिट’का लागि परिषद्बाट आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराइने बताउनुभयो । 

महानगरका विपत् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले तालिममा दुर्घटना र मानवीय दृष्टिकोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई व्यवस्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश गरिएको जानकारी दिनुभयो । तालिममा काठमाडौँ उपत्यकाभित्रका पालिकाबाट ४० जना अग्नि नियन्त्रकको सहभागिता छ । अग्नि नियन्त्रक नभएका पालिकाबाट पर्यवेक्षक/अवलोकनकर्ताका रूपमा सहभागी गराइएको छ ।