• १३ असोज २०८१, आइतबार

निर्वाचन समावेशी र अपाङ्गतामैत्री बनाउन निर्देशन

blog

काठमाडौँ, कात्तिक २५ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्‍गतामैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । नेपालको संविधानले अङ्‍गीकार गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्‍कल्प आत्मसात् गरेको आयोगले जनाएको छ । 

‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७’ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९, लगायतका निर्वाचनसम्बन्धी कानुनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई विशेष जोड दिएको र सोसम्बन्धी व्यवस्थाहरूको कार्यान्वयनमा निर्वाचन आयोग प्रतिबद्ध रहेको बिहीबार आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आसन्न निर्वाचनलाई लक्षित गरेर आयोगले जारी गरेका निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन गरिएको छ । आयोगले जारी गरेको निर्देशनमा मतदान कक्ष बनाउँदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नबनाई वा नराखी होचो कद वा अपाङ्‍गता भएका व्यक्ति वा ज्येष्‍ठ नागरिक मतदाताले पनि सजिलै मत सङ्‍केत गर्न सक्ने गरी बनाउने वा राख्‍ने, गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताका लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्ने, मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्‍गता भएका, सुत्केरी, ज्येष्‍ठ नागरिक, बिरामी तथा अशक्त मतदाताका लागि समेत सहज हुने गरी निर्माण गरी सबैको सहज पहुँच सुनिश्‍िचत गर्ने उल्लेख छ । 

साथै मतदान अधिकृतले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्‍ठ नागरिक, बिरामी, किरियापुत्री, काखे बालबालिका साथमा भएकी महिला, अपाङ्‍गता भएका व्यक्ति तथा अन्य (लैङ्‍गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई मतदान गर्ने काममा प्राथमिकता दिई मतदान गराउने व्यवस्था गर्ने बताइएको छ । यस्तै दृष्‍िटविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले आफ्नो मत सङ्‍केत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानुनबमोजिम पूर्ण अशक्त वा अति अशक्त अपाङ्‍गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो÷होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताका साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफूसमेत निजहरूसँग गई आफ्नो रोहवरमा मतदाताले भनेबमोजिमको निर्वाचन चिह्नमा मत सङ्‍केत गर्न लगाउने जनाइएको छ ।  

आयोगले जारी गरेको निर्देशनमा कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणवश आफैँ मत सङ्‍केत गर्न नसक्ने भई मत सङ्‍केत गर्ने काममा सहयोग पु‍-याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत सङ्‍केत गर्ने काममा सहयोग गर्ने, निर्वाचन सूचना व्यवस्थापन प्रणालीलाई लैङ्गिकमैत्री तथा समावेशी हुने गरी प्रभावकारी बनाउनेलगायतका विषय समेटिएका छन् । साथै निर्देशनसम्बन्धी विषय मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई दिने तालिम र अभिमुखीकरणमा समावेश गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई निर्देशन दिनेलगायतका छन् ।