• १२ मंसिर २०८१, बुधबार

मतदाताका वारेसप्रति चनाखो बन्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

blog

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक २४ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिनुभएको छ ।

अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले गत स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बना अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन उहाँले आग्रह गर्नुभएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानको सन्दर्भमा आफू अशक्त भएको बहाना बना पक्षधर व्यक्तिलाई मतदान गर्न दिन गम्भीर प्रकृतिको कसुर भएकाले त्यसो नगर्न पनि सचेत गराउनुभयो ।

उहाँले कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरुमार्फत मतदान गराउने किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने चेतावनी दिनुभयो ।

‘‘स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएको र आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको भनी अरुमार्फत मतदान गराएका केही उदाहरण पनि आएका छन् । मतदानको सन्दर्भमा यो गम्भीर प्रकृतिको कसुर हो ।,’’ उहाँले भन्नुभयो, ‘‘यस्ता कार्यलाई कहीँ कतैबाट हुन नदिनका निम्ति सचेत रहन म सबैलाई आग्रह गर्दछु । कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरुमार्फत मतदान गराउने यस किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने व्यहोरासमेत जानकारी गराउँछु ।’’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवम् अपाङ्गतामैत्री बनाउने कुरामा ध्यान दिन पनि सम्बन्धित प्रमुख निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

उहाँले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा लैङ्गिक र अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण गरी उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थलको सम्पूर्ण व्यवस्थापन गर्दा अपाङ्ग, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्तहरुलाई सहज पहुँचको सुनिश्चितता कायम गर्नेगरी मतदान केन्द्र निर्माण गर्न आग्रह गर्नुभयो ।

उहाँले मतदान स्थलमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, कृयापुत्री तथा सुत्केरी मतदाताहरुका लागि सामान्य अवस्थाको एउटा विश्रामस्थल निर्माण गर्नपनि निर्देशन दिनुभयो । आयोगले मतदान कक्ष बनाउँदा, मत पेटीका राख्दा, धेरै अग्लो ठाउँमा नबनाइ मतदान गर्ने ठाउँ सकेसम्म होचो कद भएका र अपाङ्गता भएका मतदाताहरुले पनि सजिलै मतदान गर्नसक्ने र मत पेटीकामा आफैँले मत खसाल्न सक्नेगरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान अधिकृतहरुले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, कृयापुत्री र आफ्नो काखमा बालबालिका लिएर आएका महिलाहरु र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दि उनीहरुले धेरै समय कुर्नु नपर्ने गरी मतदानको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

आयोगले दृष्टिविहीन र शारीरिक अशक्त भएका कुनै पनि कारणले मत सङ्केत गर्न नसक्ने मतदाताहरुले आफ्नो साथमा लि आएको आफ्नो घर परिवारको व्यक्तिलाई मतदान कक्षमा जान अनुमति दिन पनि आग्रह गरेको छ । त्यस्तै आयोगले लैङ्गिक एवम् अपाङ्गतामैत्री मतदान स्थलमा हुनुपर्ने न्यूनतम कुराहरु भएको छ कि छैन भन्ने कुरामा ध्यान दिँदै अशक्त मतदाताहरुलाई मतदान गर्ने मात्रै नभ बाहिर निस्किने व्यवस्था पनि सहज गर्न निर्देशन दिएको छ ।

प्रमुख आयुक्त थपलियाले यो पटक आयोगले मतदानको दिनसमेत आवश्यक व्यवस्थासहित नियन्त्रित र व्यवस्थित ढङ्गले सवारी साधनलाई पनि सञ्चालन गर्ने गरी आवश्यक प्रबन्ध गर्ने जानकारी दिनुभयो । साथै उहाँकले गम्भीर प्रकृतिका अशक्त, ज्येष्ठ नागरिक लगायतका मतदातालाई सकेसम्म मतदान केन्द्रसम्म जान र फर्किनको निम्ति आवश्यक समन्वय गरी सवारी साधनको आवश्यक प्रबन्ध गरिदिन पनि आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदातालाई सहज ढङ्गले मतदान गर्ने अवस्था सिर्जना गरी यस पटकको निर्वाचन लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमुना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्न पनि सम्बन्धित पक्षहरुलाई आग्रह गर्नुभयो ।