• १२ मंसिर २०८१, बुधबार

बहत्तर घण्टाअघि सीमा सिल

blog

काठमाडौँ, कात्तिक २४ गते । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभयो। भारतसँग जोडिएको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई सय र चीनसँगको सिमाना सुरक्षाका लागि आठवटा ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गरिएको छ। सीमा क्षेत्रको सुरक्षा मजबुतीका लागि केन्द्रबाट थप सुरक्षाकर्मी पठाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा रहेको बीओपीलाई थप सशक्त बनाइएको छ। एकीकृत सुरक्षा योजनाअन्तर्गत परिचालन भएको सशस्त्र प्रहरीले निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको सुरक्षा तथा आवश्यक स्थानको गस्ती गर्दै आएको छ। 

तयारी अवस्थामा सेना

गृह मन्त्रालयले तयार पारेको एकीकृत सुरक्षा योजनाअन्तर्गत मतपत्र छपाइको सुरक्षा र ढुवानीको जिम्मेवारी नेपाली सेनालाई तोकिएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ दुई करोड ४० लाख एक हजार तथा समानुपातिकतर्फ दुई करोड १८ लाख चार हजार मतपत्र स्थल मार्ग हुँदै ६८ जिल्लामा पु-याइएको नेपाली सेनाले जनाएको छ।

डोल्पा, हुम्ला, जुम्ला, मुगु, बाजुरा, मनाङ र मुस्ताङलगायतका नौवटा हिमाली जिल्लामा हवाई मार्गबाट मतपत्र पु-याउने तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो। निर्वाचनको अवधिमा नेपाली सेनाले मतदान स्थलको बाहिरी सुरक्षासँगै विमानस्थल र कारागार तथा महत्वपूर्ण संरचनाको सुरक्षा गर्नेछ। निर्वाचन सुरक्षाका लागि १० दिनअघि ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा सम्बन्धित निर्वाचन क्षेत्रमा परिचालन हुने सैनिक मुख्यालयले जनाएको छ। 

निर्वाचनको अवधिमा आउन सक्ने आपत्कालीन अवस्थाको व्यवस्थापन, विस्फोटक पदार्थ निष्क्रिय पार्ने तथा केन्द्रीय सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको समन्वयमा विशेष तथा रणनीतिक नाकाको सुरक्षासमेत सेनाले गर्नेछ। 

मतदान स्थलबाट ३० मिनेटको दूरीभित्र तैनाथ रही सेनाले बाहिरी सुरक्षा गर्नेछ। देशका सबै जिल्लामा ‘रिजर्भ फोर्स’ तयारी अवस्थामा राख्दै आवश्यक स्थानमा हवाई तथा स्थलगत गस्ती गर्ने गरी पूर्वसुरक्षा तयारी गरिएको छ। मतदान स्थलको सुरक्षाका लागि ४९ हजार ४३०, विमानस्थल, कारागार, महत्वपूर्ण संरचना र प्रतिष्ठानको सुरक्षाका लागि तीन हजार ९३० सैनिक परिचालन गरिने भएको छ।

सुरक्षाका दृष्टिले संवेदनशील रहेका मतदान स्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६१० सैनिक तयारी अवस्थामा राखिनेछ। विस्फोटक पदार्थ पत्ता लगाउन र निष्क्रिय पार्न देशभर दुई हजार ५६० तालिम प्राप्त बम डिस्पोजल टोली तयारी अवस्थामा राखिनेछ। आवश्यक स्थानको हवाई गस्तीका लागि १५० सैनिकलाई तयारी अवस्थामा राखिएको छ।