काठमाडौँ, कात्तिक २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको छ ।
विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुग्नुभएका राष्ट्रपति भण्डारीले मञ्चद्वारा प्रदान गरेको अवार्ड ग्रहण गर्नुभएको हो । उहाँलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गर्नुभयो ।
राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । उहाँले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो ।
अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएका राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ ।