• ११ मंसिर २०८१, मङ्गलबार

नेपाल–भारतका सुरक्षा अधिकारीको बैठक

blog

समन्वय बैठकमा सहभागी हुन भारतबाट आएका सुरक्षा अधिकारीको स्वागत गर्दै नेपाली अधिकारीहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, कात्तिक २३ गते । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्थाका विषयमा नेपाल–भारतका सुरक्षा अधिकारीबीचको बैठक सुरुभएको छ । भारतीय सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न अधिकारीहरुबीच छलफल सुरुभएको अधिकारीहरूको भनाइ छ ।

बैठकमा नेपाल तर्फबाट बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरू र भारतीय सीमावर्ती जिल्ला बहराइच र श्राबस्तीका जिल्ला अधिकारी अर्थात् डिस्ट्रिक्ट मेजिष्टेड (डिएम), प्रहरी प्रमुख अर्थात् कप्तानसहित एसएसबीका उच्च अधिकारीहरू सहभागी रहनुभएको छ ।  

आम निर्वाचनका बेला सीमा क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने र मतदानका बेला सिमानाका बन्द गर्ने, लागुऔषध नियन्त्रण, साना हतियार र विस्फोटक पदार्थको ओसारपसार, अपराध नियन्त्रण, चेलीबेटी बेचबिखन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका विषयमा छलफल भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । 

नेपाल र भारतमा निर्वाचन हुँदा मतदानको बेला ७२ घण्टासम्म नेपालगञ्ज रुपैडिया लगायत बाँके र बर्दिया जिल्लाका नाकाहरू बन्द गर्ने गरिएकाले बैठकमा सो बारेमा छलफल हुने खत्रीले जानकारी गराउनुभयो ।