• १३ असोज २०८१, आइतबार

आचारसंहिताको पालना होस् : प्रमुख आयुक्त थपलिया

blog

युवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्त । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक २३ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका सङ्घसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले सो कुरा बताउनुभएको हो ।

उहाँले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आचारसंहिताको उल्लङ्घन र निर्देशनको अवज्ञा भएमा उल्लङ्घनकर्तालाई महँगो पर्न सक्ने चेतावनी प्रमुख निर्वाचन आयुक्त थपलियाले दिनुभयो ।थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने स्पष्ट गर्नुभयो । निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महँगो हुने उहाँको चेतावनी थियो ।

युवाहरूलाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्नुहुँदै उहाँले आचारसंहिताको उल्लङ्घन पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराउनुभयो । जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको सङ्ख्या बढी हुने व्याख्या गर्दै उहाँले निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्द वातावरण कायमका लागि पनि युवाहरूले सकारात्मक भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रहरू सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गर्नुभयो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।”