• १२ साउन २०८१, शनिबार

धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना

blog

कोकिला भण्डारी 

धनकुटा, कात्तिक २१ गते ।  प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटामा रोचक प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनका सुनील थापा र नेकपा एमाले नेतृत्वको गठबन्धनका राजेन्द्रकुमार राई चुनावी प्रतिस्पर्धामा रहनुभएको छ। यी दुई उम्मेदवारले एक अर्कासँग दुई पटक चुनावी प्रतिस्पर्धा गरिसक्नुभएको छ। एक पटक थापाले र एक पटक राईले जित्नुभएको छ। तेस्रो पटक आमुन्ने सामन्ने भएका थापा र राईबीचको प्रतिस्पर्धामा २०७० सालको संविधान सभा निर्वाचनमा थापाले बाजी मार्नुभएको थियो भने २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राईले बाजी मार्नुभएको थियो। 

पाख्रिवास नगरपालिका–८, मुगाका थापा र राईसँगै अन्य आठ जना चुनावी मैदानमा रहनुभएको छ। धनकुटाको निर्वाचनमा थापा र राईबीच नै प्रतिस्पर्धा हुने धेरैको अनुमान छ तर हेमराज भण्डारीजस्ता स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा रहेका कारण यस पटक कसले बाजी मार्ने हो, अहिले नै भन्न सकिने अवस्था छैन।

२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन जिते पनि एमालेका राईले जिल्लामा विकास निर्माणका कामहरू गर्न नसकेको भन्दै जनता परिवर्तनको पक्षमा रहेकाले आफूलाई जनताले विश्वास गरेर जिताउने कांग्रेसका थापा बताउनुहुन्छ। थापाले धनकुटामा कोरोना कहरको प्रथम लहरको महामारीको समयमा स्वास्थ्य उपचार र आठ लाख बराबरको स्वास्थ्य सुरक्षाका सामग्रीहरू जुटाएर वितरण गरेको तथा दोस्रो लहरको समयमा पनि ७२ लाख बराबरको अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिन्टर, उपकरणसहित औषधि जिल्लाका सबै वडा तथा ६२ स्वास्थ्य केन्द्रमा वितरण गरेर जिल्लावासीलाई गुन लगाएको जनताले मूल्याङ्कन गर्ने बताउनुहुन्छ।

कांग्रेस नेता थापाले धनकुटा अस्पतालमा जापान सरकारको अनुदानमा एक करोडको अक्सिजन प्लान्ट भित्र्याउन सफल, भारतीय सरकारको सहयोगमा छिन्ताङ्गमा एम्बुलेन्स हस्तान्तरण, धनकुटाबाट काठमाडौँ गई बसेका दुई सयभन्दा बढी धनकुटेली परिवारलाई कोभिडको समयमा निःशुल्क खाद्यान्न वितरणलगायतका सामाजिक कार्य गरेकाले उहाँको विकल्प यस पटक जनताले नखोज्ने धनकुटाका कांग्रेसका सभापति दिनेश राई विश्वास गर्नुहुन्छ।

थापासँग एक पटक हारेको र अर्को पटक थापालाई हराउनुभएका राई यसै पनि आफ्नो पार्टीको सङ्गठन दह्रो रहेको र जनतासँग आफू घुलमिल भइरहेका कारण राईकै जित हुने एमाले नेता कार्यकर्ताको विश्वास छ। 

स्वतन्त्र उम्मेदवार भण्डारीको सक्रियतामा बेलहरा एयरपोर्टको सुरुवात, ठूला आयोजनाहरू तमोर कोरिडोर, पाख्रीबास कृषि क्याम्पस, अरुण कोरिडोरजस्ता जनताले अनुभव गर्ने खालका ठूला आयोजनाको पहल भएकाले उम्मेदवारमध्ये स्वतन्त्र उम्मेदवार बलियो उमेदवारका रूपमा देखा पर्नुभएको छ। भण्डारी आफू कसैलाई हराउनभन्दा पनि चुनाव जित्नकै लागि उम्मेदवार बनेको र पार्टीहरूसँग जनताको वितृष्णा बढिरहेकाले आफ्नो जित हुने दाबी गर्नुहुन्छ।