• १२ मंसिर २०८१, बुधबार

महानगर प्रमुख साहलाई स्पष्टीकरण

blog

काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह । फाइल तस्बिर

काठमाडौं, कात्तिक १९ गते । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख साहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे आयोगले महानगर प्रमुख साहसँग स्पष्टीकरण सोधेको हो ।

नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आबद्धता नै रहे भएको जस्तो गरी साहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो ।

‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानुनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानुनको परिकल्पनाभन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानुनबाहेकका कानुनको उल्लङ्घन हुनसक्ने विषयमा समेत आयोग सचेत छ ।’ आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानुनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’

आयोगले साहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईँको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ ।