• १६ चैत २०८०, शुक्रबार

जसपाको ३५ पृष्ठ लामो निर्वाचन प्रतिबद्धता पत्र

जसपाको आर्थिक एजेण्डा : प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउने

blog

निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्नुहुँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् पार्टीका नेता । तस्बिर : कविन अधिकारी

काठमाडौं, कात्तिक १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउने लक्ष्य लिएको छ ।

सन् १९५० यता आधुनिक नेपालको सात दशकमा राजनीतिक सङ्घर्षका धेरै चरण पार गरेको जसपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, सन् २०१५ मा संविधान बनेपछि जनताको आर्थिक अवस्था परिवर्तन नै राजनीतिको मुख्य गन्तव्य हुन पुगेको जसपाको ठम्याइ छ ।

जसपाले शनिबार सार्वजनिक गरेको ३५ पृष्ठ लामो प्रतिबद्धता पत्रमा मुलुकको समावेशी विकास र समतामूलक समृद्धिलाई क्षेत्रगत रुपमा आर्थिक, भौतिक, सामाजिक, संस्थागत विकास एवम् सुशासन, पर्यावरणीय सन्तुलन र विपद् व्यवस्थापन गरी पाँच आयाममा निर्धारण गरेको छ । सोही अनुरुप विकासका लागि जसपाले आधारभूत अर्थनीति अवलम्बन गर्ने जनाएको छ ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जसपाले आर्थिक विकासको मुख्य लक्ष्य र उद्देश्य प्रतिबद्धता पत्रमा समावेश गरेको छ ।

जसमा कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थिर पुँजीको रुपमा विकास गर्ने, पाँच वर्षमा निरन्तर २ अङ्कको आर्थिक वृद्धि हासिल गर्ने र प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउने जसपाको लक्ष्य छ ।

त्यस्तै, आर्थिक वृद्धिदर उच्च राख्न पुँजी निर्माण तथा परिचालन, नयाँ प्रविधिको उपयोग र विकासका साथै विभिन्न रुप र स्थितिमा रहेका उत्पादक शक्तिको क्षमता विकास एवम् प्रभाव विस्तारमा जोड दिने घोषणापत्रमा उल्लेख छ ।

जसपाले निर्यातभन्दा १० गुणा बढी आयात भइरहेको परिप्रेक्ष्यमा तुलनात्मक लाभ भएका उद्योगको क्षेत्रमा लगानी बढाउन राष्ट्रिय उद्योगीलाई प्रोत्साहन गर्ने जनाएको छ । साथै देशको स्रोत साधनमा आधारित निकासीको अभिवृद्धि गरेर बढ्दो व्यापार घाटालाई नियन्त्रण गरिनेछ ।

यसका साथै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्ति जस्तो महत्त्वपूर्ण स्रोत साधनको उच्चतम सदुपयोग गरेर मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्याउनका लागि विकासका पूर्वाधार तयार गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।

यसैगरी, विकास योजना तर्जुमा गर्दा तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माण गर्न जोड दिने । यसका लागि पाँच वर्ष, १० वर्ष र २५ वर्षको योजना तर्जुमा गरिनेछ । साथै,  पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई एकल अङ्कै सीमित गर्ने पनि घोषणापत्रमा समेटिएको छ ।

यसैगरी, उत्पादनको वृद्धि तथा समन्यायिक वितरण, सार्वजनिक खर्चको सन्तुलित विनियोजन तथा वित्तीय साधनको न्यायोचित बाँडफाँटका आधारमा सामाजिक न्यायको मार्गमा राज्यका सबै कार्य अगाडि बढाउने । देशको प्राकृतिक तथा मानवीय स्रोत–साधनको अधिकतम उपयोग हुने गरी आर्थिक नीति तर्जुमा गरी समताको सिद्धान्तमा आधारित प्रगतिशील कर प्रणाली लागू गर्ने र देश विकासका लागि बाधक रहेका आर्थिक ऐन, नियम संशोधन गर्ने घोषणापत्रमा समेटिएको छ ।


त्यस्तै, उद्योग तथा विदेशी लगानी, वाणिज्य तथा आपूर्ति, जलस्रोत तथा ऊर्जा विकास, पर्यटन क्षेत्रको विकास, श्रम तथा रोजगारी र विज्ञान तथा प्रविधिलाई मुख्य योजनामा समेटेको छ । श्रम तथा रोजगारीतर्फ जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसर सिर्जना हुनेगरी आर्थिक नीति तय गर्ने र नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्न एक परिवार एक रोजगारको नीति अवलम्बन गर्ने जनाएको छ ।

त्यस्तै, देशको युवा श्रमशक्ति रोजगारीका लागि विदेश पलायन हुनुपर्ने स्थितिको अन्त्य गर्न देशभित्र उत्पादनका क्रियाकलाप वृद्धि गर्ने जसपाले घोषणापत्रमा समावेश गरेको छ ।

सम्बन्धित समाचार
- जसपाको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)