• ७ जेठ २०८१, सोमबार

महिनौँ देखि विद्यार्थी चौरमा पढ्न बाध्य

blog

पहिरोले भत्काएको जनप्रवास मावि भवन र चौमा अध्ययन गर्दै विद्यार्थीहरू । तस्बिर: राजन रावत

हुम्ला, कात्तिक १९ गते । दक्षिणी क्षेत्रको एक विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरू खुल्ला धुलो भएको चौरमा अध्ययन गर्न बाध्य हुँदै आएका छन् । गत असोज तेस्रो साता परेको वर्षासँगै गएको पहिरोले भवन भत्काएपछि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य हुँदै आउनु भएको हो ।

ताँजाकोट गाउँपालिका– १ को काँडाजिमाना गाउँको जनप्रकाश माध्यमिक विद्यालयको कक्षा सातमा  अध्ययनरत छात्रा सबिता खड्काले विद्यालयको भवन कामै नलाग्ने गरी भत्किएपछि विद्यार्थीहरू चौर र पाखोमा बसेर अध्ययन गर्दै आएको बताउनुभयो । उहाँले पहिरोले भवन भत्कँदा कक्षा कोठाका बेन्च र डेस्कपछि काम नलाग्ने गरी भाँचिएको अवस्थामा रहेको बताउँदै विद्यार्थी धुलाम्मे चौरमा बसेर अध्ययन गरी रहेको बताउनुभयो । यसले गर्दा उहाँले वर्षा भएको बेला र पानी परेको बेला पढाई बन्द हुने गरेको बताउनुभयो । 

ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले पहिरोबाट विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेपछि हाल पठन पाठन कार्य चौरमा भई रहेको बताउनुभयो । उहाँले ताँजाकोट गाउँपालिका– १ को काँडाजिमाना गाउँको जनप्रकाश माध्यमिक विद्यालयको तीन कोठे भवन पहिरो पूर्ण रूपमा छापेको कारण ती कोठामा अध्ययन गर्ने विद्यार्थीहरू हाल चौरमा पढ्दै आएको बताउनुभयो । उहाँले विद्यालयको एउटा भवन पूर्ण रूपमा भत्किएको छ भने अन्य दुई वटा भवनको कोठामा भल पसेर बस्न नसकिने अवस्थामा रहेको बताउनुभयो । 

भवन भत्किएपछि  पाँच वटा कक्षाका विद्यार्थीहरू चौरमा अध्ययन गर्न बाध्य भएको विद्यालयले जनाएको छ । विद्यालयमा ३५० जना विद्यार्थीहरू अध्ययन गर्दै आउनु भएको छ । एक वर्ष अगाडी निर्माण भएर सञ्चालनमा आएको भवन भत्किएपछि विद्यालय समस्या परेको छ । अव नयाँ भवनको व्यवस्था गर्न नसके विद्यालयको पढाई नै प्रभावित हुने विद्यालयले जनाएको छ । गत असोज १९ गतेबाट २४ गतेसम्म परेको वर्षाले विद्यालयको भवन भत्काएको हो । उक्त गाउँपालिकाका अन्य दुई वटा विद्यालयमा पनि पहिरोले भवनलाई क्षति पुर्‍याएको गाउँपालिकाकाले जनाएको छ ।

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।