• ११ असोज २०८१, शुक्रबार

गठबन्धनको एकता निर्वाचन परिणामले देखाउँछ : प्रदीप पौडेल

blog

काठमाडौं क्षेत्र नं. ५ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेसका युवा नेता प्रदीप पौडेल ।

काठमाडौं, कात्तिक १९ गते । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेस र गठबन्धनको एकता आगामी निर्वाचन परिणाले देखाउने बताउनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका काठमाडौं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएको युवा नेता पौडेलले मतदाताको मत र विवेकमाथि पैसाको चलखेल गर्नेहरूमाथि खबरदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीको नम्स्लाई स्वीकार गरेर, संस्थागत निर्णयलाई मानेर अघि बढ्ने हाम्रो चरित्र हो । त्यसैले कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्दैनन् भनेर भ्रम सिर्जना गर्न खोजिएको छ । भ्रम सिर्जना गर्नेहरूलाई हामी देखाउनेछौँ । हामीभित्र कस्तो एकता छ भनेर ।” 

काठमाडौं क्षेत्र नं. ५ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता पौडेलले राजधानीमा विवेकी मतदाता रहेका कारण यहाँ कसैले पनि मतदाताको मत र विवेक किन्न नसक्ने बताउनुभयो । यस क्षेत्रमा चेतना बोकेका मान्छेहरू बसेका कारण पनि कसैको पनि मत किन्ने कोसिसलाई सफल हुन नदिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यो राजधानी हो यहाँ भोट किन्न पाइँदैन । राजधानीको भोट पैसाले किनिँदैन । मान्छेको विवेक किन्ने पिपासुहरू, मान्छेको विचार किन्न पनि पछि नपर्ने अहङ्कारीहरू यही काठमाडौंमा भेटिन्छन् । तर उनीहरूको प्रयास सफल हुँदैन । यो विवेक बोकेका मान्छेहरूको बस्ती हो । यो चेतना बोकेका मान्छेहरू बसेको ठाउँ हो । यो देशलाई सन्देश दिने ठाउँ हो ।”

उहाँले पार्टीको आन्तरिक चुनावको प्रतिस्पर्धालाई चुनावका बेला ल्याएर मत र मन विभाजन गर्न खोजिएको र त्यसलाई चिरेर अघि बढ्ने बताउनुभयो ।

“हामी नेतृत्वले गल्ती गरे पनि नेतालाई भन्न पछि पर्दैनौँ । यो गल्ती भयो भन्दै मर्यादा राखेर त्यसप्रति औँला ठड्याउँछौँ”, उहाँले भन्नुभयो ।

त्यसैगरी, यसअघि जितेर गएकाहरूले विकास निर्माणको काम गर्न नसकेको भन्दै आफूहरूले घोषणापत्रको आधारमा काम गरेर देखाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।