• १४ असार २०८१, शुक्रबार

लिस्तिकोट दुगुनागढी माउण्ट ट्रेल रेस सम्पन्न

blog

भोटेकोशी गाउँपालिकाको तेस्रो लिस्तिकोट दुगुनागढी माउण्ट ट्रेल रेस २०७९ मा अतिथिसहित खेलाडीहरु । तस्बिर : चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, कात्तिक १८ गते । भोटेकोशी गाउँपालिकामा तेस्रो लिस्तिकोट दुगुनागढी माउण्ट ट्रेल रेस २०७९ सम्पन्न भएको छ । जिल्ला र जिल्ला बाहिरको २४१ जना धावकले सो रेसमा सहभागी भएका थिए । २४ दशमलव ५ किलोमिटरको ट्रेल रेस भोटेकोशी गाउँपालिकाको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको प्राङ्गणबाट ऐतिहासिक भूमि दुगुनागढीमा पुगेर समापन भएको थियो । 

नेपाली सेनाका उपरथी पृतनापति योगराज शर्मा प्रमुख तिथ्यमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ बिशेष अतिथि, बाहिनीपति सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारी, जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर यादव, राष्ट्रिय अनुसन्धानका डिएसपी कुमार खड्का, अन्तर्राष्ट्रिय ट्रेल रनर तथा स्काई रनर मीरा रा लगायतको सहभागिता थियो ।

सोहीअनुसार श्री गोरख बक्स गणका गणपति जनक सिलवाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका महासचिव शम्भुबहादुर तिमल्सिनाको समेत सहभागिता रहेको कार्यक्रममा भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । भोटेकोशी गाउँपालिका मुख्य आयोजक र श्री गोरख बक्स गण आयोजक रहेको थियो । 

भोटेकोशी गाउँपालिकाको ऐतिहासिक भूमि दुगुनागढी, प्रसिद्ध मन्दिर लिस्तिमाइलाई अन्तर्राष्ट्रिय पहिचान बनाउँदै पर्यटकीय क्षेत्र बनाउन र उक्त गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रलाई संरक्षण, प्रवर्धन गर्न सो रेस प्रतियोगिता सञ्चालन गरिएको आयोजक भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले जानकारी दिनुभयो । 

सो गाउँपालिका र श्री गोरख बक्स गणले यसअघि विगत दुई वर्ष अघिबाट सो ट्रेल रेस आयोजना गर्दैआएका छन् । सो रेसमा खुल्लातर्फ देवराज महत प्रथम हुनुभयो । उहाँले ४ दशमलव ५ किलोमिटर दूरी २ घण्टा ८ मिनेटमा पार गरी १ लाख १० हजार जित्नुभयो ।   यसअघि गत वर्ष भएको सो रेसमा पनि उहाँले सोही दूरीको रेस दुई घण्टा १६ मिनेटमा पार गरेर प्रथम हुनुभएको थियो ।  

दुई घण्टा १५ मिनेटमा उक्त दूरी पार गरेर मोहनदेव जोशी द्वितीय भई ७५ हजार रुपियाँ जित्नुभयो । दुई घण्टा १५ दशमलव ५ सेकेण्डको दूरी पार गरेर राजेन्द्र तामाङ तृतीय भई नगद ५५ हजार जित्न सफल भएका छन् । पहिलो संस्करणमा प्रथम भएका सुमन कुलुङ चौथो भई ४० हजार हात पार्नुभयो । अर्जुन कुलुङ पाँचौं र वेदबहादुर सुनुवार छैंटाैं हुनुभयो । उहाँहरुले क्रमशः ३० र २० हजार नगद जित्न सफल हुनुभयो । 

प्रतियोगिता भोटेकोशी गाउँपालिका –३ स्थित तातोपानी सुख्खा बन्दरगाह भन्सारबाट शुरु भएको थियो । एक हजार २ सय ३५ मिटरको उचाइबाट शुरु भएको ट्रेल रेस नयाँ पुल, पाङलाङ, भालढुङ्गा, लिस्तिकोट हुँदै २ हजार ४ सय २५ मिटर उचाइको गुम्बा पुगेर सिल्दुम, धारापानी, गोदाम भएर २ हजार १ सय २२ मिटर उचाइको दुगुनागढी पुगेर रेस सम्पन्न भएको थियो ।