• ११ असोज २०८१, शुक्रबार

चिच्याएर वर माग्ने मेला सुरु

blog

रेखीराम राना

पाल्पा, कात्तिक १८ गते । पाल्पाको सत्यवतीमा चिच्याएर ‘वर’ माग्ने मेला आज शुक्रबारदेखि सुरु भएको छ । पाल्पाको तिनाउ –४, सत्यवती ताल क्षेत्रमा चिच्याएर ‘वर’ माग्ने मेला सुरु भएको हो । 

तीन वर्षदेखि कोरोनाका कारण हुन नसकेको मेला सुरु भएको सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेलामा चिच्याएर ‘वर’ माग्न भारतसहित नेपालका विभिन्न स्थानबाट हजारौँ भक्तजन आउने गर्छन् । परापूर्वकालमा सत्यवती बज्यैले तपस्या गरेको स्थानमा चिच्याएर ‘वर’ मागे पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

सत्यवती बज्यै कान नसुन्ने भएकाले आफूले मनमा चिताएको वर चिच्याएर मागेमा पूरा हुने विश्वास रहँदै आएको सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । 

मेलामा डेढदेखि दुई लाख भक्तजन आउने अनुमान गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । यो वर्ष मेलामा आउने भक्तजनलाई सुविधा पुग्नेगरी यातायात व्यवस्था र सुरक्षाको प्रबन्ध राम्रो गरिने उहाँले जानकारी दिनुभयो । सत्यवती मेला पाल्पा जिल्ला, लुम्बिनी प्रदेशकै अनौठो र गौरवमय मेला भएकाले यसको प्रचारप्रसार तथा धार्मिक पर्यटन प्रवर्धनमा सबैको सहयोग हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।