• ११ मंसिर २०८१, मङ्गलबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानमाथि गोली प्रहार

blog

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान । फाइल तस्बिर

काठमाडौं, कात्तिक १७ गते । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहीबार दिउँसो पूर्वी पन्जाब प्रदेशको वजिराबाद जिल्लामा खानमाथि गोली प्रहार भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपी, एफपीका अनुसार गोली प्रहारबाट उहाँ घाइते हुनुभएको जनाएको छ । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो । गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए ।

एआरवाई न्यूजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो । पूर्व प्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उहाँसहित अन्य पाँच जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा पाँच जना घाइते भएको जानकारी दिएका छन् ।

गोली लागेर घाइते भएकाहरूलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा संलग्न आरोपित एक जनालाई हिरासतमा लिइएको जनाएको छ । घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।