• ७ जेठ २०८१, सोमबार

सिमकोटको विद्युत् सुचारु गर्न हेलिकोप्टरबाट जेनरेटर ढुवानी

blog

हुम्ला, कात्तिक १७ गते । हिल्दुम विद्युत् वितरण केन्द्रले विद्युत् आपूर्ति सुचारु गर्न मुगुको गमगढीबाट दुई वटा जेनरेटर हेलिकोप्टरमा ढुवानी गरेर सिमकोट ल्याइपुर्याएको छ । हिल्दुम साना जलविद्युत आयोजनाको नहरलाई पहिरोले क्षति पुर्‍याएपछि एक महिनादेखि विद्युत् सेवा बन्द भएपछि त्यसलाई सुचारु गर्न प्राधिकरणको सहयोगमा जेनरेटर ल्याउने कार्य भएको हो । 

हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले दुई वटा जेनरेटर हेलिकोप्टरमा ढुवानी गरेर सिमकोट आइपुगेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सीता परियारको समन्वय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष पहलमा सिमकोटको विद्युत् सेवा सुचारु गर्न तत्कालका लागि जेनरेटर सञ्चालन गरेर विद्युत् सेवा सुचारु गर्न लागिएको हो ।

जेनरेटरका पार्टहरू नेपाली सेनाको हेलिकोप्टरले मुगुबाट झुण्ड्याएर सिमकोट विमानस्थलमा ल्याएको हो । उहाँले जेनरेटर सिमकोट पुुगेको र अब जोडेर विद्युत्   उत्पादन गरेर आपूर्ति सुचारु गर्ने बताउनुभयो । दुवै जेनरेटरको विद्युत् उत्पादन गर्ने क्षमता २२५ किलोवाट रहेको छ । उहाँले यसबाट सिमकोटमा विद्युत् सुचारु हुने बताउनुभयो । प्राधिकरणले विशेष गरी निर्वाचनका काममा बाधा नपरोस् भन्नका लागि जेनरेटरको व्यवस्था गरेको हो । केन्द्रले एउटा जेनरेटर पावर हाउसमा र एउटा सिमकोटमा राखेर विद्युत् उत्पादन गर्ने गरिने छ । नहरको मर्मत कार्य केन्द्रले गरिरहेको छ । बुधवार कार्यकारी निर्देशक घिसिङ अनुगमनका लागि हेलिकोप्टरमा सिमकोट आउनुभएको थियो ।

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।