• ३ असार २०८१, सोमबार

मतदाता रिझाउँदै उम्मेदवार

blog

रजनी योगी

सुर्खेत, कात्तिक १७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । कँडेल सुर्खेत जिल्लाबाट प्रदेश सभा क्षेत्र नं. २ (क)मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाता भेटघाटको चटारोमा उम्मेदवार भए पनि धान काट्ने र बाली भिœयाउने समय भएकाले घरदैलोमा मतदाता भेटाउन मुस्किल छ । उहाँ मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहनुभएको छ । धानबाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घरआँगनमा भेट्न कठिन छ ।

उम्मेदवार कँडेलले आफ्नो निर्वाचन क्षेत्रमा प्रायः मतदातासँग मत मागिसक्नुभएको बताउनुभयो । पार्टीका आन्तरिक बैठक र भेलासँगै मतदातामाझ चुनावी प्रतिबद्धता जनाउन र मत माग्न भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो । घनश्याम भण्डारी पनि प्रदेश सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । नेपाली कांग्रेसका नेता भण्डारी दैलेख प्रदेश सभा २ (क)मा सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । 

चुनावी अभियानमा व्यस्त उहाँ केही दिनयता घरदैलोमा जुटिरहनुभएको छ । बाली स्याहार्नुपर्ने बेला भएकाले सबै मतदातासँग सहजै भेट भइरहेको छैन । भण्डारीले पनि आफूले मतदाता जहाँ भेटिन्छन्, त्यही मौका छोपेर मत माग्ने गरेको बताउनुभयो ।

घरदैलो गर्ने क्रममा मतदातामा आशाभन्दा निराशा बढी पाइने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार मतदाताले विकासका आधारभूत पूर्वाधार पनि नहुँदा सास्ती भइरहेको गुनासो गर्ने गरेका छन् । बाटो, बिजुलीबत्ती र खानेपानीजस्ता आधारभूत सवालमा मतदाताको बढी चासो रहने गरेको भण्डारीको भनाइ छ । प्रतिनिधि सभाको एक र प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्र रहेको हुम्ला (क)मा नेकपा (एकीकृत समाजवादी)का नेता हस्त शाही चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सत्तारूढ गठबन्धनमा उहाँको पार्टी पनि छ तर उहाँ भने गठबन्धनसँग नै चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आफूलाई उपेक्षा गरिएको भन्दै गठबन्धन दलको निर्णयविपरीत उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा होमिएको शाहीले बताउनुभयो । शाहीलाई पनि चुनावी चटारोले छोएको छ । मतदाता भेट्ने र आफ्ना प्रतिबद्धता सुनाउने काम भइरहेको उहाँले बताउनुभयो । सो क्षेत्रमा सत्तारूढ गठबन्धनले साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र)का रणसिंह परियारलाई उम्मेदवार बनाएको छ । 

सत्ता गठबन्धनबाट जुम्ला प्रदेश सभा (क)मा नेपाली कांग्रेसका ललितजङ्ग शाही उम्मेदवार हुनुहुन्छ । नेपाली कांग्रेसका कर्णाली प्रदेश समितिका सभापति शाही अगुवा नेता कार्यकर्तासँगै घरदैलोमा मत माग्न पुगिरहनुभएको छ । उहाँले कात्तिक १८ पछि मात्रै आमसभा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । गठबन्धनप्रति मतदाताको बुझाइ सकारात्मक रहेको पनि उहाँको दाबी छ । उहाँका विरुद्ध भने बागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेसकै महाधिवेशन प्रतिनिधि देवेन्द्र शाहीले उहाँविरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । उहाँ पनि चुनावी मैदानमा घरदैलो गरिरहनुभएको छ । उहाँहरू दुवै आफ्नो पक्षमा जनमत बटुल्ने कसरत गरिरहनुभएको छ ।

निर्वाचन आचारसंहिताका कारण पनि दल तथा उम्मेदवार अहिले आन्तरिक भेला र घरदैलो अभियानमा मात्रै केन्द्रित छन् । धान काट्ने र बाली भिœयाउने मौसम भएकाले अधिकांश ग्रामीण क्षेत्रका मतदाता खेतीबारीमा व्यस्त छन् । उम्मेदवारले बारी र मेलापातमै पुगेर मतदातालाई चुनावी नाराले फकाउने गरेका छन् । जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचारलाई तीव्र पारेका उम्मेदवार अगुवा नेता र कार्यकर्ताको हुल बाँधेर घरदैलोदेखि मेलापात गर्ने ठाउँसम्मै पुग्ने गरेका हुन् । उम्मेदवारले अघिल्ला निर्वाचनको तुलनामा यसपालि प्रचारमा सामाजिक सञ्जालको प्रयोगसमेत व्यापक बनाएका छन् ।