काठमाडौँ, कात्तिक १७ गते । मङ्सिर ४ गते हुने निर्वाचनका लागि यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म दल तथा उम्मेदवारहरूले आमसभा, जुलुस, कोणसभा जस्ता कार्यक्रम एवं सञ्चारमाध्यमको प्रयोग गरेर आफ्नोबारेमा प्रचारप्रसार गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसार यद्यपि यस्ता कार्यक्रमहरू गर्दा निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्डहरू पालना गर्नुपर्ने व्यवस्था छ।
जुलुस तथा आमसभा जस्ता कार्यक्रम गर्दा कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने, जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि स्थानीय प्रशासन र प्रहरीलाई त्यसको मिति, समय, मार्ग र स्थानका बारेमा जानकारी गराउनुपर्ने, जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने जनाइएको छ । साथै एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भ्रातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने र सो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गर्नुपर्ने आयोगले जनाएको छ ।
त्यस्तै कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने, विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने, जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने, बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने, निर्वाचन प्रयोजनका लागि ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको तीन÷चार फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न राख्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने साथै उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा यस्तो सामग्री राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने जनाइएको छ । साथै दल वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने, कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपाङ्ग्र्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा र टाँगालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी -याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै दल वा कुनै उम्मेदवारले सञ्चारमाध्यम प्रयोग गरेर प्रचारप्रसार गर्दा राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने, राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७/७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने बताइएको छ । साथै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने आयोगले जनाएको छ।