• १२ असोज २०८१, शनिबार

सम्पदाको डिजिटल प्रोफाइल तयार गर्छु : उर्जामन्त्री भुसाल

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १६ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाको डिजिटल प्रोफाइल तयार गर्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरूको संरक्षण तथा प्रवर्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुधवार ललितपुर क्षेत्र ३ को वाम–लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रममा उहाँले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने पनि उल्लेख गर्नुभयो । 

रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्धन गरिने उहाँले बताउनुभयो । मन्त्री भुसालले हस्तकला केन्द्रहरूको स्तरोन्नति गर्ने, पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने बताउनुभयो । त्यस्तै, स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनः निर्माण, संरक्षण र उपयोग गरिने पनि उहाँले बताउनुभयो ।

मन्त्री भुसालले निर्माणाधीन बागमती, नख्खु, कर्मनासा लगायत करिडोर सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकास निर्माणका निकायबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने उहाँले बताउनुभयो । अध्ययन सम्पन्न भएका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने उहाँको भनाइ छ । 

आफ्नो घोषणापत्रमा स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग, स्थानीय स्रोतको सामुदायिकीकरण गरिने, स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनको प्रवर्धन गरिने, जनसहभागितामुलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने र कृषि पर्यटनको प्रवर्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिने उहाँले बताउनुभएको छ । 

हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै महिला हिंसाको उन्मूलन र हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका हुने विषय पनि मन्त्री भुसालले समेट्नुभएको छ । ललितपुरमा रहेका विकास साझेदार संस्थासँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने, क्लब र समूहलाई सबल तुल्याई परिचालन गर्ने पनि उहाँले बताउनुभयो ।