• १२ असोज २०८१, शनिबार

रुपन्देही ५ का उम्मेदवार घरदैलोमा व्यस्त

blog

पबिता पौडेल 

सैनामैना, कात्तिक १६ गते । रुपन्देही क्षेत्र नं ५ मा विभिन्न पार्टीका उम्मेदवारले चुनावी एजेन्डाहरू पस्कँदै आफ्नो क्षेत्रका मतदातासँग भेटघाट तथा छलफलमा व्यस्त रहनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि नेताहरूले आफ्नो क्षेत्रका मतदाताकहाँ भोट माग्न व्यस्त हुनुभएको हो । 

क्षेत्र नं ५ बाट तीन पटक निर्वाचित हुनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थ राज्यमन्त्री भरत शाहले विकास  निर्माण गरेरै तीन पटक चुनाव जित्न सफल भएको बताउनुभयो । 

जनतासामु भोट माग्ने क्रममा आफ्नो एजेण्डा प्रस्तुत गर्दै उहाँले विकास निर्माण अन्तर्गत सुकुम्वासी समस्या समाधान गर्ने, बाटोघाटो निर्माण, शिक्षा स्वास्थ्य, खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बोलेर मात्र भएन काम गरेर देखाउनुपर्छ अनि जनताले भोट दिन्छन्, शाहले भन्नुभयो ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नंं. ५ (क) का गठबन्धन दलबाट प्रदेश सभा सदस्य पदका साझा उम्मेदवार विनोद पहाडीले मतदातासँगको भेटघाटमा व्यस्त रहेको बताउनुभयो । रुपन्देही क्षेत्र नं ५ (क) को समग्र विकासका लागि नयाँ योजनासहित चुनावी मैदानमा आएकाले निर्वाचनमा जिताउन मतदातालाई अनुरोध गर्नुभएको छ ।  

पहाडीले भौतिक विकास निमार्णसँगै मानवीय विकास र परिवर्तनलाई संस्थागत रूपमा कार्यान्वयन गर्न चुनाव जितेसँगै आफ्नो क्षेत्रमा खरको छाना हटाउने, वैदेशिक रोजगारीबाट अपमानित भएर फर्किएका महिला सुरक्षाका लागि सम्मानजनक वैदेशिक रोजगार नीति बनाउन पहल गर्ने, घुम्ती स्वास्थ्य सेवा सञ्चालन, महिला विद्यालय स्थापना, नमुना महिला सुरक्षा आवास गृह स्थापना लगायतका विषय जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सोहीअनुसार नेकपा (एमाले) बाट क्षेत्र नम्बर ५  का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले मतदातासँग भोट माग्ने क्रममा सुकुम्वासी, भूमिहीन नागरिकलाई व्यवस्थित गर्दै गाँस बास कपासको सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो । जहाँ बाटोघाटो पुल पुलेसाको अभावले जनताले दुःख पाएका छन्  त्यहाँ सो संरचना बनाउने प्राथमिकता दिने बताउनुभएको छ । आफ्नो मुख्य एजेण्डा स्थानीय विकास निर्माण रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो । 

सोहीअनुसार अन्य दलका उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र बनाउनुभएको जनाउनुभएको छ । स्थानीय मतदाताहरूले विकास निर्माण र जनताको दुःख आत्मसात् गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रतिक्रिया जनाउनुभएको छ । निर्वाचनताका ठूला आश्वासन दिने तर पछि फर्केर नआउने उम्मेदवारलाई मतदान नगर्ने मतदाताहरूको भनाइ छ ।