• ११ मंसिर २०८१, मङ्गलबार

अरब लिगको सम्मेलन अल्जेरियामा सुरु

blog

अल्जियर्स, कात्तिक १६ गते । अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा मङ्गलबार साँझदेखि सुरु भएको छ । यो अरब लिगको ३१ औँ शिखर सम्मेलन भएको बताइएको छ ।

यस सम्मेलनका मुख्य एजेण्डामा खाद्य सुरक्षा र इजरायल प्यालेस्टाइन रहेकाे बताइएको छ । यसअघि लिगको ३० औँ सम्मेलनको आयोजक राष्ट्र ट्युनिसिया थियो । ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहनुभएको थियो । मङ्गलबार साँझ अल्जियर्समा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उहाँले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गर्नुभएको थियो ।

मङ्गलबार साँझको सो उद्घाटन सत्रमा सम्बोधन गर्दै अल्जेरियाका राष्ट्रपति सइदले अरब लिगको एकतामा जोड दिनुभएको थियो । उहाँले यस ३१ औँ सम्मेलनको नारा पनि पुनर्मिलन राखिएको भन्दै यस सम्मेलनले अरब राष्ट्रहरुका बीचमा पुनर्मिलन गराउने अपेक्षा गरिएको बताउनुभएको थियो ।

सो सत्रमा अल्जेरियाका राष्ट्रपति तोबेनोले अरब विश्व र समग्र विश्व नै अहिले विभिन्न जटिलताका साथ गुज्रिरहेका बेला अरब लिगको सम्मेलन सुरु भएको भन्दै यस सम्मेलनले अरबका समस्याहरुको समाधानका लागि विकल्प दिन सक्नुपर्ने बताउनुभयो ।

उहाँले हाल विश्वमा कोरोना भाइरसको समस्यापछि सुरु भएको आर्थिक मन्दीका साथै खाद्यान्न सङ्कटजस्ता विषयमा अरब विश्वले पनि सोच्नुपर्ने धारणा राख्नुभएको थियो । 

उहाँले हाल विश्वमै बढ्दो रुपमा रहेको खाद्यान्न सङ्कटको समाधानका लागि अरब विश्वले पनि आफ्नो अर्थतन्त्रमा गति दिँदै आपसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ ।   

सो सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुनुहुने बताइएको छ । साथै अन्य अरब देशका नेताहरुले सो सम्मेलनमा सहभागिता जनाउनुहुने समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा