ललितपुर, कात्तिक १५ गते । नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।
कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।
कांग्रेस केन्द्रीय सदस्य एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र समन्वय समितिहरूलाई प्रभावकारी बनाउने निर्णय भएको छ। उहाँले पाँच दलबीच भएको गठबन्धनलाई सफल बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले निर्वाचन लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने र सबै जिल्लामा गठबन्धनका उम्मेदवार, नेता, कार्यकर्ताबीच समन्वय गर्न केन्द्रबाट प्रतिनिधिहरू पठाउने बताउनुभयो। उहाँले कांग्रेस र गठबन्धनमा आबद्ध दलबीच भएको सहमति कार्यान्वयन गर्नका लागि पार्टीका सबै तहका संयन्त्रलाई परिचालन गरिएको बताउनुभयो। उहाँले समितिको सचिवालयसहित भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, अनुगमन मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमिति, निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, निर्वाचन अनुगमन तथा अनुशासन उपसमिति, निर्वाचन आयोग समन्वय उपसमिति, जिल्ला–काठमाडौँ सम्पर्क समिति समन्वय उपसमिति र सातवटै प्रदेश परिचालन समन्वय उपसमितिलाई अझै प्रभावकारी बनाउने बताउनुभयो।