• १२ मंसिर २०८१, बुधबार

थरिथरिका नारा

नेकपा एसको चुनावी घोषणापत्रमा ५४ प्रतिबद्धता

blog

नेकपा (एकीकृत समाजवादी) द्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र सार्वजनिक । तस्बिर : कविता थापा

काठमाडौं, कात्तिक १४ गते । नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा ५४ वटा प्रतिबद्धता व्यक्त गरेको छ ।

सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाललगायतका नेताहरूले सामूहिक रूपमा सार्वजनिक गर्नुभएको चुनावी घोषणापत्र ५६ पृष्ठ लामो छ ।

सरकारमा सामेल हुँदा यी प्रतिबद्धता कार्यान्वयन गर्ने र विपक्षमा रहँदा यिनै विषयलाई जनआवाजको रूपमा अगाडि बढाउने निर्वाचन घोषणापत्रमा उल्लेख छ ।

सो पार्टीले कार्यान्वयन गर्ने प्रतिबद्धताहरु यस प्रकार छन् :-
१. आधुनिक कृषि र सम्पन्न किसान : किसानलाई सम्पन्न बनाउने कृषि उत्पादकत्वमा वृद्धि गरेर नै हो । कृषि पूर्वाधारमा ठूलो मात्रामा लगानी गरी कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण तथा कृषि यन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्धता र कृषि उत्पादकत्व वृद्धिमा नेकपा एसको जोड छ ।

२. संरक्षित कृषि बजार, किसानको जीवनमा बहार : ‘विदेशिएका युवालाई स्वदेश फर्काऊँ, कृषि उत्पादनमा वृद्धि गरौँ ।’ नेकपा एसको नारा रहेको छ ।

३. भूमिको वैज्ञानिक व्यवस्थापन : भूउपयोग नीतिमा परिवर्तन : घोषणापत्र अनुसार वैज्ञानिक भूमिसुधार लागू गरी भूमिसँग सम्बन्धित मोहियानी हकलगायतका सम्पूर्ण समस्या कानुनबमोजिम समाधान गर्न पहल गरिनेछ । 

४. सिँचाइमा लगानी : कृषियोग्या जमिनमा पानी : आधुनिक सिँचाइ प्रणाली लागू गरी सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा सिँचाइको व्यवस्था गर्न पहल गरिनेछ ।

५. राष्ट्रको पहिचान : पर्यटन विकास र संस्कृति संवर्द्धन : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नेपालको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक विशेषतालाई प्रवर्धन गर्दै जैविक, ऐतिहासिक र सांस्कृतिक विविधता एवम् प्राकृतिक सौन्दर्यको अध्ययन–अवलोकनका साथै नयाँ गन्तव्यको खोजी कार्यमा जोड दिइनेछ ।

६. घरेलु, ग्रामीण, साना तथा मझौता उद्योग : आत्मनिर्भरताको प्रयोग : देशको आन्तरिक उत्पादनविना आत्मनिर्भर अर्थतन्त्रको विकास सम्भव छैन ।

७. एकीकृत योजनाबद्ध भौतिक पूर्वाधार र यातायात : स्थानीय तहका टुक्रे योजनामा सङ्घीय र प्रादेशिक सरकारले बजेट पठाउने प्रचलनको अन्त्य गरी राष्ट्रिय महत्त्वका योजना सङ्घ, प्रादेशिक महत्त्वका योजना प्रदेश र स्थानीय स्तरका योजना स्थानीय स्तरकै गुरुयोजना अनुसार लागू गर्ने व्यवस्था मिलाइनेछ ।

८. सहरी तथा एकीकृत बस्ती विकास, समृद्ध नेपालको आधार : सडक, खानेपानी, ढल, विद्युत्, दूरसञ्चार, खुला क्षेत्रजस्ता आधारभूत पूर्वाधारसहित आवासीय क्षेत्र, पार्क, सार्वजनिक सेवा प्रवाह गर्ने स्थान, स्कुल/कलेज, धार्मिक–सांस्कृतिक तथा पर्यटकीय क्षेत्र, कृषि, व्यावसायिक तथा औद्योगिक क्षेत्र आदि निर्धारण गरिएका आधुनिक सहरहरू निर्माणका लागि स्रोतको कमी र जग्गाको उपलब्धतालाई परिपूर्ति गर्न ‘जग्गा एकीकरण परियोजना’ लागू गरिनेछ ।

९. ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने गरी व्यवस्था मिलाइने छ ।

१०. सडक पूर्वाधार : आर्थिक समृद्धिको आधार : तराई–मधेशमा व्याप्त गरिबी, अभाव र अविकासको समस्यालाई सम्बोधन गर्न विशेष कार्यक्रम लागू गरी गरिबी र पछौटे अवस्था समाप्त गर्न पहल गरिनेछ ।

११. गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार : राष्ट्र निर्माणको आधार : दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘एक जिल्ला, एक बहु प्राविधिक शिक्षालय’, ‘एक पालिका, एक प्राविधिक विषय’ को अवधारणाअनुसार प्राविधिक शिक्षामा जोड दिइनेछ ।

१२. निःशुल्क स्वास्थ्य उपचार : जनताको मौलिक अधिकार : सबै नागरिकलाई सहजरूपमा अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गर्ने, गरिबीको रेखामुनि रहेका जनताका लागि बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने, १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिनेछ ।

१३. निःशुल्क खानेपानी : सुखी जिन्दगानी : ‘एक घर एक धारा, स्वच्छ खानेपानी हाम्रो अभिभारा’ भन्ने नाराका साथ हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्‍याउने काम सरकारको उच्च प्राथमिकता हुने ।

१४. स्वस्थ जीवनको आधार : खेलकुदका पूर्वाधार : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रिय पहिचानका लागि खेलकुद’ भन्ने उद्घोषका साथ बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद क्षेत्रको विकासमा जोड दिइनेछ ।

१५. विज्ञान–प्रविधि र आविष्कार : आर्थिक–सामाजिक रूपान्तरणको मूल आधार : विज्ञान तथा प्रविधिसम्बन्धी नीति तय गर्दा ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति २०७६’ र ‘राष्ट्रिय शिक्षानीति २०७६’ लाई समेत ध्यान दिइनेछ ।

१६. हवाई तथा जलमाग : भूपरिवेष्टित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका लागि पहल गरिनेछ ।

१७. मानव संसाधन विकास : ‘एक घर, एक सीप र एक रोजगारी’ को अवधारणा अनुसार सिप विकास, स्वरोजगारी, रोजगारी, उद्यमशीलता र रोजगारदाताहरूको साझा सीप बजार स्थापना गरी स्वदेशमै श्रम शक्तिको उपयोग गर्ने नीति लिइनेछ ।

१८. युवाशक्ति नै राष्ट्र निर्माणको आधार : ‘हाम्रा युवा, हामीसँगै’ भन्ने आह्वानका साथ ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन (ब्रेन ड्रेन) हुनबाट रोक्ने र आफ्नै गाउँ सहरमा रोजगारी र स्वरोजगारीका अवसरहरू सृजना गर्ने कुरालाई उच्च प्राथमिकतामा राखिनेछ ।

१९. प्राकृतिक सम्पदा र वातावरणको संरक्षण : प्राकृतिक स्रोतमाथि नेपाली जनताको अक्षुण्ण अधिकारको रक्षा गर्ने, समुदायमा आधारित वन व्यवस्थापनलाई प्रोत्साहन दिँदै दिगो वन व्यवस्थापनमा आधारित प्रणालीमार्फत वनको उत्पादकत्वमा वृद्धि गरी काठ र अन्य वन पैदावारहरूमा देशलाई आत्मनिर्भर बनाउन पहल गरिनेछ ।

२०. सबैतिर पार्क बनाऔँ : फलफूलका बिरुवाले सडक सजाऔँ : भूमाफियाहरूद्वारा कब्जा गरिएका जमिन फिर्ता लिई अन्य उपलब्ध सार्वजनिक जमिनको अधिकतम सदुपयोग गरी सार्वजनिक पार्क बनाइनेछ ।

२१. स्वच्छ, सुन्दर र आधुनिक राजधानी : ‘मेरो सहर, म बनाउँछु’ भन्ने उद्घोषका साथ सफा, सुरक्षित र सभ्य सहर बनाउन पहल गरिनेछ ।

२२. फोहोर बन्नेछ मोहर : सफा हराभरा गाउँ–सहर : केन्द्रीकृत योजना बनाई नदीनाला, विभिन्न प्राकृतिक स्थलहरू, पोखरी र तीर्थस्थलहरू र त्यहाँसम्म जाने मार्गहरूलाई फोहरमुक्त बनाइनेछ ।

२३. संरक्षित पर्यावरण : सुरक्षित सभ्यता र मानव जीवन : जलवायु परिवर्तनबाट उत्पन्न समस्याको समाधान, जलवायु अनुकूलन, दूषित हावा नियन्त्रण तथा जैविक विविधता संरक्षणका कार्यहरू सञ्चालन गरिनेछ ।

२४. पानीका स्रोत संरक्षण र विकास : ‘एक टोल, एक पोखरी’ को अवधारणा लिई पहाडका डाँडाकाँडामा पोखरीहरू निर्माण गर्न लगाइनेछ ।

२५. गाउँ सहरमा सहकारी : घरघरमा रोजगारी : ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’ अभियान अनुसार प्रत्येक गाउँ टोलमा विभिन्न विषयका सहकारी निर्माण गर्न, ती सहकारीको प्रवर्धनमा सरकारबाट सहयोग पुर्याउन र घरघरमा रोजगारीका अवसर वृद्धि गर्न तथा सबै सहकारीलाई बीमा व्यवस्थामा आबद्ध गर्न पहल गरिनेछ ।

२६. मर्यादित श्रम : सम्मानित श्रमिक : केन्द्र, प्रदेश र स्थानीय तहमा दक्ष श्रमशक्ति आपूर्ति केन्द्र स्थापना गर्न पहल गरिनेछ ।

२७. महिलाको हित : हरघर सुरक्षित : रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिने तथा गर्भवती महिला र गर्भमा रहेको शिशुको नियमित स्वास्थ्य परीक्षण, उपचार, पोषण र संरक्षणको विशेष व्यवस्था गर्न पहल गरिनेछ ।

२८. जातीय छुवाछूत मेटाऔँ : मानव मर्यादा कायम गरौँ : समुदायका बीचमा उद्यमशीलताका लागि ‘एक दलित बस्ती एक सहकारी र एक दलित परिवार एक रोजगारी’ सहित ‘नमुना दलित बस्ती विकास कार्यक्रम’ लागू गर्न पहल गरिनेछ ।

२९. बालबालिका विशेष कार्यक्रम : बालबालिकालाई भविष्यका असल नागरिक बनाउनका लागि सानै उमेरदेखि तिनीहरूको शारीरिक र मानसिक विकासमा जोड दिइनुपर्दछ ।

३०. ज्येष्ठ नागरिकको रखवारी : नयाँ पुस्ताको जिम्मेवारी : ज्येष्ठ नागरिक भत्ता क्रमशः बढाउँदै लगिनेछ ।

३१. अल्पसङ्ख्यक लैङ्गिक समुदायको मर्यादा : हाम्रो इरादा समाजमा सबै लैङ्गिक समुदायका मानिसहरूको हकहितको सुरक्षा हुनुपर्दछ भन्ने बारेमा हाम्रो पार्टी सचेत छ ।

३२. अपाङ्गतामैत्री संरचना : हाम्रो चाहना : ‘अपाङ्गतामैत्री गाउँ/सहर, हाम्रो रहर’ भन्ने नाराका साथ अपाङ्गतामैत्री संरचना, खासगरी अपाङ्गतामैत्री विद्यालय, कार्यालय एवम् सामुदायिक भवन तथा अपाङ्गतामैत्री शौचालय निर्माण गर्न पहल गरिनेछ ।

३३. भूतपूर्व सैनिक तथा प्रहरीको मान : राष्ट्रिय सुरक्षाको शान : भूपू सैनिकहरूका हक, हित र सरोकारका विषयमा समुचित ध्यान दिइनेछ ।

३४. गरिब तथा विपन्न वर्ग लक्षित कार्यक्रम : अति गरिब नागरिकलाई गरिबीको स्तर मापनसहित वर्गीकृत गरी ‘विपन्न परिचयपत्र’ वितरण गर्ने, विपन्नताको परिचयपत्र प्राप्त गरेकाहरूलाई सुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउने, रोजगारीका अवसरहरूमा उनीहरूलाई योग्यताबमोजिम पहिलो प्राथमिकता दिने र उनीहरूको आर्थिक उन्नतिका लागि विशेष योजना बनाई लागु गराउन पहल गरिनेछ ।

३५. सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति : ‘विविधता र बहुलता, नेपालको सम्पदा : सामाजिक सद्भाव र राष्ट्रिय एकता’ घोषणापत्र  नीतिका आधारमा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ गर्न विशेष अभियान सञ्चालन गरिनेछ ।

३६. भ्रष्टाचारमुक्त सरकार : आर्थिक सम्पन्नताको आधार : ‘भ्रष्टाचारमुक्त सरकार : भ्रष्टाचाररहित समाज’ को नारासहित भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, अनियमितता, सरकारी काममा ढिलासुस्ती आदिमा कडा निगरानी राखिनेछ ।

३७. जनसेवा र सुशासन: स्वच्छ र पारदर्शी प्रशासन : ‘प्रशासनिक खर्च कटाऔँ, साधारण खर्च घटाऔँ, विकास खर्च बढाऔँ’ भन्ने नाराका साथ फजुल खर्च नियन्त्रण गरी प्रशासनिक खर्च कटाउन, साधारण खर्च कम गर्ने र विकास खर्च (पुँजीगत खर्च) बढाउन पहल गरिनेछ ।

३८. जोखिम व्यवस्थापनसहितको विकास : विपदमा सहयोगी समाज : विपद् आइलाग्न सक्ने कुराको आङ्कलन गरी आवश्यक पूर्व तयारीका लागि ‘बहुप्रकोपीय नक्सा’ बनाउन र विपद् सन्निकट असुरक्षित बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै एकीकृत बस्ती विकासको कार्यक्रम लागु गर्न पहल गरिनेछ ।

३९. गैरआवासीय नेपालीको लगानी : अर्थतन्त्रको विकास र समृद्धि : गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र आर्जनलाई राष्ट्र निर्माणमा लगाउने विभिन्न सहुलियत प्रदान गर्ने नीति लिइनेछ ।

४०. विविधतामा एकताको सान : हाम्रो स्थानीय पहिचान : आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम लगायत सबै जातीय तथा धार्मिक समुदायको पहिचानलाई सम्मान गर्दै उनीहरूको हक हित र अधिकारलाई सुनिश्चित गर्न पहल गरिनेछ ।

४१. सूचना प्रविधि प्रयोग र प्रेस स्वतन्त्रता : ‘पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र’ को भावनाअनुसार पूर्ण प्रेस स्वतन्त्रताको अनुभूति दिलाइनेछ ।

४२. कब्जा जमिन र सम्पत्तिको खोजी : विभिन्न तरिकाले कब्जा गरिएका जमिनलगायतका सार्वजनिक सम्पत्तिको खोजी गरी सरकारको मातहतमा ल्याइनेछ ।

४३. सुकुम्वासी समस्या समाधान : घरबारविहीन सुकुम्वासी, पूर्वकमैया–कमलरी र पूर्वहलिया, लोपोन्मुख जातिका परिवार, मुसहर, चेपाङ, पासी, चमार, डोम, बादी, माझी, राउटे, कुसुन्डालगायतका विपन्न र पछाडि परेका समुदायका परिवारलाई घरबार उपलब्ध गराउन पहल गरिनेछ ।

४४.द्वन्द्वपीडित राहत सहयोग : द्वन्द्वपीडित, घाइते, शहीद परिवार तथा बेपत्ताका परिवारहरूलाई सम्मान तथा आवश्यक राहत सहयोगका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

४५. उपभोक्ता हित संरक्षण : प्रत्येक तहमा उपभोक्ता हित संरक्षणसम्बन्धी निकाय स्थापना गरेर उपभोक्ता घोषणापत्र  हितलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरिनेछ ।

४६. सबल र सक्षम प्रदेश सरकार : प्रदेश सरकारलाई सुदृढ, संविधान प्रदत्त अधिकारको अभ्यास गर्न सक्षम, आधारभूत लोकतन्त्रको नमुना र सङ्घीयताको मर्मअनुरूप विकास गरिनेछ ।

४७. लोककल्याणकारी राज्य : भरपर्दो सामाजिक सुरक्षा : लोककल्याणकारी राज्य र समाजवादको आधारभूत पक्षका रूपमा रहेको सामाजिक सुरक्षा कार्यक्रमलाई सर्वसुलभ तुल्याउँदै लगिनेछ ।

४८. सामाजिक सुधार : समानताको आधार : छुवाछूत, अन्धविश्वास, घरेलु हिंसा, दाइजो, तिलक प्रथा, छाउपडी, बोक्सी प्रथाजस्ता कुसंस्कारविरुद्ध सामाजिक अभियान सञ्चालन गरिनेछ ।

४९. सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता : हाम्रो पार्टी नेपाली असल संस्कृतिमाथिको हस्तक्षेप र आक्रमणको वैचारिक तथा सांस्कृतिक प्रतिवाद गर्दछ ।

५०. राष्ट्रिय सुरक्षा : राष्ट्रिय हित र स्वाभिमानको रक्षा : राष्ट्रिय एकताको भावना प्रवर्द्धन गरी राष्ट्रिय सुरक्षा नीति र यसको कार्यान्वयन प्रक्रियाको समयानुकूल पुनरावलोकन गरिनेछ ।

५१. सीमा सुरक्षा र आवागमन व्यवस्थापन : मित्रराष्ट्रसँगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिइनेछ ।

५२. नागरिकता समस्याको दीर्घकालीन समाधान : लामो समयदेखि नेपालमा बसोबासका साथै पेसा व्यवसाय गरेर बसेका व्यक्तिहरूलाई व्यवसायमा लगानी गर्न व्यावसायिक तथा आवासीय जग्गा खरिद गर्ने लगायतकामा सहजता प्रदान गर्ने गरी कानुन निर्माण गर्न पहल गरिनेछ ।

५३. वैदेशिक लगानीका लागि सहज वातावरण : कुनै विदेशी नागरिकले यहाँको कानुनबमोजिम नेपालमा लगानी गर्न चाहेमा न्यूनतम ५० करोड लगानी गर्न सक्ने भए ‘विदेशी लगानीकर्ता परिचयपत्र’ उपलब्ध गराउन ।

५४. स्वतन्त्र, असंलग्न र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध : राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्रराष्ट्रहरूसँग पञ्चशील र असंलग्नताका सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुरूप सुमधुर सम्बन्ध कायम गरिनेछ ।

सम्बन्धित समाचार

नेकपा एसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)