• १२ मंसिर २०८१, बुधबार

ओलीले चालीस चुनावी सभालाई सम्बोधन गर्ने

blog

काठमाडौँ, कात्तिक १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्तीमा ४० जिल्लामा चुनावी प्रचार सभालाई सम्बोधन गर्नुहुने भएको छ ।

नेकपा (एमाले)का प्रचार विभाग सचिव गगन विष्टका अनुसार केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले कात्तिक १८ देखि २६ गतेसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासम्मका कम्तीमा ४० जिल्लाका ४० वटै सभामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यतालिका बनाएको छ । एमालेले कात्तिक १५ गते निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले ४० जिल्लामा पुगेर सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले एक दिनमा तीनवटासम्म चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई अध्यक्ष ओलीसँगै एमालेका पदाधिकारी रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र इन्चार्जले सम्बोधन गर्ने तयारी गरिएको छ ।

अधिकांश जिल्लामा अध्यक्षद्वारा नै सम्बोधनको माग आएकाले निर्वाचन परिचालन कमिटीले आवश्यकताअनुसार अध्यक्षले सम्बोधन गर्ने तालिका बनाउन लागेको हो । एमालेको सम्बन्धित जिल्ला कमिटी नै आयोजक रहने भए पनि वक्ताका रूपमा कसलाई पठाउने भन्ने निर्णय भने केन्द्रीय प्रचार कमिटीले गर्नेेछ ।

अभियानको सुरुवात दार्चुलाबाट गरेर त्यसलाई राष्ट्रिय जागरण अभियानका रूपमा अगाडि बढाउने तयारी रहे पनि निर्णय भने नभएको प्रचार विभागका सचिव विष्टले प्रस्ट्याउनुभयो ।