• १३ असोज २०८१, आइतबार

पाँच विमान कम्पनीलाई उडान गर्न निर्देशन

blog

मीनराज भण्डारी

काठमाडौँ, कात्तिक १३ गते । नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीलाई भैरहवामा अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्।

यसअघि प्राधिकरणले काठमाडौँमा तीनभन्दा बढी उडान गर्दै आएका सबै अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई कात्तिक १५ गतेदेखि दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो। तर चाडपर्व र बिदाका कारण हाललाई स्वदेशी विमान कम्पनी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई भैरहवामा उडान सुरु गर्न प्राधिकरणले निर्देशनसहितको पत्र पठाएको छ। स्वदेशी विमान कम्पनीले पहिले उडान सुरु गरे बाह्य विमान कम्पनीलाई पनि भैरहवातर्फ मोड्न सहज हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अक्टोबर ३० देखि आगामी सन् २०२३ मार्चसम्मको उडान तालिका (विन्टर सेड्युल) अनुसार गौतम बुद्व विमानस्थलमा समेत उडान भर्न निगम र हिमालय एयरलाइन्सलाई पत्राचार गरिएको छ। अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आगामी पुस १ गतेदेखि भैरहवामा अनिवार्य उडान तयारी गर्न प्राधिकरणले सूचना गरिसकेको छ। उहाँले भन्नुभयो, “हाल काठमाडौँमा २६ विदेशी विमान कम्पनीले उडान भर्दै आएका छन्। भैरहवा विमास्थलको व्यवसाय बढाउन र विदेशी विमान कम्पनीलाई आकर्षित गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो। यसले काठमाडौँ विमानस्थलको हवाई चापसमेत सुधार्न मद्दत गर्छ।” भैरहवामा पनि उडान गर्न प्राधिकरणले गरेको प्रस्तावपछिको छलफलमा विमान कम्पनीहरू सकारात्मक रहेको उहाँले बताउनुभयो।

भैरहवाबाट दैनिक एक उडान गर्न निगम र हिमालयले केही समय मागेर तयारी गरिरहेको उहाँको भनाइ छ। भैरहवा उडान सङ्ख्या बढाउन हवाई इन्धनको मूल्य घटाउन र भैरहवाबाटै सुरुवाती श्रम अनुमति र स्वास्थ्य परीक्षण व्यवस्था भइसकेकाले हिमालयले भैरहवाबाट साउदीको रियादसम्म र निगमले भैरहवाबाट दुबई–दोहाको उडान गर्ने उहाँले जानकारी दिनुभयो। विमानस्थल सञ्चालनका लागि देखिएका समस्या समाधान गर्न मुख्यसचिव शङ्करदास बैरागीको नेतृत्वमा तिहारअघि नै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायत सरकारी निकायबीच छलफल भएको र छलफलपछि विमानस्थलमा यात्रुको सङ्ख्या बढाउन सम्बन्धित मन्त्रालयले गर्नुपर्ने काम समेत छुट्ट्याइएको उहाँले जानकारी दिनुभयो।

हाल गौतम बुद्ध विमानस्थलबाट जजिरा एयरवेजले साताको तीन उडान गर्दै आएको छ। गत जेठ २ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थमा सुरुमा जजिरा एयरवेजले साताको तीन उडान गरेको थियो। यात्रुको सङ्ख्या थपिएपछि भदौ ३१ देखि नियमित एक उडान गरेको जजिराले असोज २५ गतेबाट पुनः साताको तीन उडान गर्दै आएको छ। 

थुप्रै सम्भावना बोकेको यो विमानस्थलमा उडान सङ्ख्या थपिँदै गए वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने/जाने नेपाली र लुम्बिनी घुम्न आउने बौद्धमार्गी पर्यटकलाई अन्तर्राष्ट्रिय उडानको सेवा लिन काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य हुनेछ। 

प्राधिकरणले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशतसहित एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षालगायत शुल्कमा एक वर्षसम्म छुट दिएको छ।