• १३ साउन २०८१, आइतबार

पिङ खेल्ने क्रममा एकको मृत्यु

blog

बिशाल सुनार 

दुल्लु, कात्तिक ९ गते । दैलेखमा पिङ खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका –६ काँडाचौरका १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताउनुभयो ।

पिङ खेल्ने क्रममा लडेर घाइते भएका बोगटीको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । ‘अपराह्न ३ बजेतिर नारायण नगरपालिका –६ काँडाचौर बसपार्क स्थित पिङ खेल्ने क्रममा पिङबाट खसेर घाइते भएका बोगटीलाई उपचारका लागि दैलेख अस्पताल भर्ना गरिएको थियो’ प्रहरी निरीक्षक कार्कीले भन्नुभयो, ‘उपचारको उहाँको क्रममा निधन भयो ।’ मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । 

दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पिङ खेल्ने क्रममा खसेर घाइते भएको र उपचारको क्रममा निधन भएको बताउनुभयो । नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपानेका अनुसार पिङ खेल्न सुरु गरेलगत्तै बोगटी दुई पटकसम्म पिङमा मच्चिएका थिए । स्थानीयले हृदयाघात भएर पिङबाट खसेको हुनसक्ने आशङ्का गरेका छन् ।