• ४ जेठ २०८१, शुक्रबार

सिमकोट–खार्पु सडक १५ दिनपछि खुल्यो

blog

हुुम्ला, कात्तिक ८ गते । असोज १९ देखि २४ गतेसम्म परेको वर्षाको कारण पहिरोले अवरुद्ध बनाएको सिमकोट खार्पु सडक पन्द्र दिनपछि सुचारु भएको छ । हिल्सा सिमकोट सडक आयोजना र पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक मर्मत गरेपछि सडक सुचारु भएको हो । 

पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले दुई दिन लगाएर पहिरोले क्षति पुर्‍याएको सडक मर्मत गरिएपछि यातायात सुचारु भएको बताए । सिमकोट खार्पु खण्डमा दशभन्दा बढी स्थानमा माथिबाट आएको पहिरोले सडकलाई क्षति पुर्‍याएको थियो । केही स्थानमा सडक पहिरोले भाँसेको थियो भने केही स्थानमा माथिबाट आएको पहिरोले पुरेको थियो । एक दुई स्थानमा भने सडकमा खसेको ढुङ्गाले अवरुद्ध बनाएको थियो । उहाँले दुई वटा कार्यालय मिलेर अवरुद्ध सडकलाई मर्मत गरिएको बताउँदै हाल यातायात सुचारु भएको बताउनुभयो ।  

पहिरोले सडकलाई क्षति पुर्‍याएपछि गत असोज २३  गतेबाट सडक अवरुद्ध हुँदै आएको थियो । सडक अवरुद्ध हुँदा यात्रुहरुले सो खण्डमा पैदल हिँड्नुपरेको थियो । यातायात सुचारु नहुँदा बिरामी समेत स्टेचरमा बोकेर मानिसले जिल्ला अस्पतालसम्म ल्याउनुपरेको थियो । कर्णाली कोरिडोरमा पर्ने सो खण्ड बाह्र किलोमिटर छ । 

यसैबीच सिमकोट हेक्पा खोला खण्डको सडक पनि सुचारु भएको छ । अवरुद्ध भएको सडकलाई मर्मत गरिएपछि यातायात सुचारु भएको छ । यसले गर्दा चुनावी प्रचारका लागि गाउँ गाउँ जाने उम्मेदवारहरू तथा राजनीतिक दलहरूलाई पनि सहज भएको छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।