• १२ पुस २०८१, शुक्रबार

पौराणिक कथा

तिहार पर्व सांस्कृतिक मूल्य

blog

तिहार पर्वमा काग, कुकुर, लक्ष्मी, गाईगोरु, गोवर्धन पर्वत तथा दाजुभाइ र दिदीबहिनीको पूजा गर्ने गरिन्छ भन्ने तिमीहरुलाई थाहै छ तर यसको अर्थ भने सबैलाई थाहा नहुन सक्छ । तिहार हामी नेपालीको सांस्कृतिक पर्व हो । दशैँपछि लगत्तै आउने यो चाड दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । हरेक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष यही कात्तिक ६ गतेदेखि १० गतेसम्म रहेको छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वतका साथै दाजुभाइ तथा दिदीबहिनीको पूजा हुने गर्छ, जुन भाइबहिनीलाई पनि थाहै हुनुपर्छ तर तिनका उद्देश्य के हुन् भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ यसको महत्व र उद्देश्यका बारे चर्चा गरौँ है त ।  

काग भनेको पन्छी प्रजातिको प्राणी हो । पन्छीहरू वातावरणीय सन्तुलनका दृष्टिले महìवपूर्ण मानिन्छन् । उनीहरूले बालीनालीमा लाग्ने कीरा खाएर हामीलाई जुन गुन लगाएका हुन्छन् त्यो आफैँमा बिर्सिनसक्नु छ । त्यसैले उनीहरूकै प्रतिनिधि पात्र मानेर कागको पूजा गर्ने परम्परा बसाइएको हो तर अझै पनि हामीबीच कतैकतै कागले नराम्रो सन्देश ल्याउँछ भन्ने मान्यता पाइन्छ । त्यसैले उनीहरू नजिक आएर कराए भने शुभ बोल भन्दै धपाउने गरिएको देखिन्छ । यसलाई कतै राम्रो भन्न सकिन्न, राम्रो मान्न सकिन्न ।   

पहिलो कुरा त कागले नराम्रो खबर ल्याउँछ भन्ने नै हुँदैन । मानिसकै कारण आफ्नो खाने बस्ने स्थान नासिँदै गएकाले त्यसको व्यवस्था गरिदेऊ भन्न आएको पनि हुनसक्छ । दोस्रो कुरा खबर नै ल्याउँछ भनेर मान्ने हो पनि नराम्रो खबर मात्र ल्याउँछ भन्ने छैन । राम्रो खबर पनि ल्याएको हुन सक्छ । त्यसैले उनीहरू घरआँगनमा आएर कराए भने धपाउने होइन बरु खाने चिज दिने बानी बसाउनुपर्छ । यही सन्देश दिनकै लागि काग तिहार मनाउने गरिएको हो ।

तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुर भनेको मानिसको नजिकको हितैषी प्राणी हो । संसारमा एक गाँस खस्रो मसिनो खान पाएको भरमा मालिकका लागि प्राणै दिन पछि नपर्ने प्राणी कुनै छ भने त्यो कुकुर नै हो भन्नु्पर्ने अवस्था छ । अझै मानिसले कुकुरसित सिक्नुपर्ने धेरै कुरा छन् । त्यसैले वर्षको एक पटक भए पनि उनीहरूको पनि सम्मान गर्ने परम्परा बसाइएको हो तर समाजमा अझै पनि कतै कसैलाई होच्याउनु प¥यो भने वा गाली गर्नु प¥यो भने कुकुरसित तुलना गर्ने गरिएको पाइन्छ, जुन कतै राम्रो होइन । पक्कै कुकुर गाली गर्न लायक वा होच्याउन लायक प्राणी होइन । त्यही कुराको सम्झना गराउनकै लागि कुकुर तिहार मनाउने परम्परा बसाइएको हो । 

तेस्रो दिन बिहान घरआँगन सरसफाइ गरी गाईको पूजा गरिन्छ । त्यसै दिन साँझ दीपावली गरेर लक्ष्मीको पूजा गर्ने चलन छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । उनीहरूले कृषि बालीलाई चाहिने मल मात्र होइन बहर (गोरु) उत्पादन गरेर मानिसलाई ठूलो गर्दै आएकी छन् । यसबाहेक अमृत समान दूध दिएर आमाले जस्तै हेर विचार गर्दै आउने कामसमेत गर्दै आएकी छन् । यसै अर्थमा गाईलाई गोमाता भन्ने गरिएको हो । यस दिन गाईको पूजा गर्नुको उद्देश्य सधैँभरि यसैगरी उनीहरूका सम्मान वा स्याहारसुसारमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनु हो ।  

साँझ दीपावली गरी लक्ष्मी पूजा गर्दा धनसम्पत्ति वृद्धि हुन्छ भन्ने विश्वास छ तर यसको अर्थ पनि वर्ष एक दिन सरसफाइ गरी दीपावली गरेर लक्ष्मीको पूजा गर्दैमा धनसम्पत्ति वृद्धि हुन्छ भन्ने होइन । बरु सधैँभरि यसैगरी घरआँगन र शरीरको सफाइ गरी शरीर र मनलाई उज्यालो अर्थात् स्वच्छ राख्नुपर्छ भन्ने हो । यसो गर्दा शरीर स्वस्थ हुन्छ । शरीर स्वस्थ भए धन कमाउन सकिन्छ । किनभने धन कमाउने साधन भनेकै शरीर हो । यही सन्देश दिनकै दीपावली गरेर लक्ष्मीपूजा गर्ने चलन  चलाइएको हो । 

चौथो दिन गोरु र गोवर्धन पर्वतको पूजा गरेर गोरु तिहार मनाइने गरिन्छ । गोरुहरूले हलो तानेर अन्नबाली उमार्न सहयोग पु¥याउँछन् । तराईतिर गाडा तान्ने काममा समेत यिनैको प्रयोग हुने गरेको छ । यद्यपि हिजोआज यस काममा मेसिनरी औजार प्रयोग गर्न थालिएको पाइन्छ । तथापि गोरुको प्रयोग पनि अझै हटेको छैन । हाम्रोजस्तो भौगोलिक विविधता भएको मुलुकमा हट्न सक्ने अवस्था पनि छैन । त्यसैले गोरुको पूजा गर्ने चलन चलाइएको हो तर यसको अर्थ वर्षको एकपछ गोरुको पूजा गरी अघिपछि जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने होइन । अपितु वर्षैभरि यसैगरी उनीहरूको स्याहारसुसारमा ध्यान दिनुपर्छ भन्ने हो ।  

गोवर्धन पर्वत पूजा गर्नुको उद्देश्य पनि पशु बलि र कृषि बालीसितै सम्बन्धित छ । जति बेला गोवर्धन पर्वतको पूजा गर्न सुरु गरिएको थियो त्यतिबेला त्यहाँको पशुधनको आधार गोवर्धन पर्वत नै थियो । त्यसैले कृष्णले इन्द्रको पूजा गर्ने परम्परा रोकेर गोवर्धन पर्वतको पूजा गर्न लगाएका थिए । यसैको सम्झनामा अहिलेसम्म पनि गोवर्धनको पर्वतको पूजा गर्ने गरिएको छ । यसको अर्थ वर्षको एक पटक गोबरको पर्वत बनाएर पूजा गर्ने भन्ने होइन । बरु सधैँभरि वनजङ्गलको संरक्षण गर्नुपर्छ भन्ने हो । वनजङ्गलको संरक्षण भए प्राकृतिक वातावरण सन्तुलन हुन्छ र प्रकृतिलाई पानीको वर्षा गराउन सजिलो हुन्छ । समयमा पानी पर्न थालेपछि वस्तुभाउले घास पाउँछन् । वनजङ्गल बढेर मानिसले प्रचुर मात्रामा अक्सिजन पाउँछन् । बाढीपहिरो रोकिएर पृथ्वीको उर्वरा शक्तिलाई बचाउँछ । यसै अर्थमा गोवर्धन पर्वतको पूजा गर्ने चलन चलेको हो । 

पाँचौँ दिन दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गरेर भाइ तिहार मनाइने गरिन्छ । यो भनेको मानिसले मानिसको सम्मान गर्नुपर्छ, गर्न जान्नुपर्छ, सिक्नुपर्छ भन्ने हो । जुन घरमा दाजुभाइ तथा दिदीबहिनीबीच माया, प्रेम, स्नेह र सद्भाव हुन्छ त्यो घर आफैँमा मन्दिर हुन पुग्छ । यसै पनि संसारमा अन्योन्याश्रय नभई कसैको पनि जीवन चल्दैन । त्यसमा पनि घरपरिवार तथा आफन्तबीचको सम्बन्ध त झनै प्रगाढ हुनुपर्छ । अन्यथा घरपरिवार । समाज श्मशानघाटको भूतभूतेमा परिणत हुन बेर लाग्दैन । यही र यस्तै यस्तै सन्देस दिनकै लागि भाइतिहार मनाउने परम्परा चलाइएको हो । 

Author

कमल रिजाल