• १३ साउन २०८१, आइतबार

खबरदारी गर्ने अधिकार जनतालाई छ : अर्थमन्त्री शर्मा

blog

राजु लामिछाने 

रुकुमपश्चिम, कात्तिक ७ गते । अर्थमन्त्री जनार्दन शर्माले जनतालाई सरकारको कमी कमजोरीहरूको आलोचना र खबरदारी गर्ने अधिकार रहेको बताउनुभएको छ । सोमबार रुकुम पश्चिमको चौरजहारीमा तिहारको अवसरमा जनसांस्कृतिक महासङ्घ चौरजहारीले आयोजना गरेको देउसीभैलो प्रदर्शन कार्यक्रममा अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।  

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री शर्माले रुकुम पश्चिममा माओवादीले सामाजिक, सांस्कृतिक रूपान्तरण अभियान र आर्थिक उत्पादन तथा समृद्धिको अभियान मार्फत विकासका योजना बनाएर कार्य गरिरहेको बताउनुभयो । जनतामाझ यी दुई अभियान लिएर जान समेत उहाँले जनप्रतिनिधिहरूलाई अनुरोध गर्नुभयो । 

कोरोनाका कारण जिल्लाको चौरजहारीमा चल्न नसकेको बीउ प्रशोधन उद्योग, दाना उद्योग, टिस्यु कल्चर लगायतका उद्योगको काम अब तीव्र रूपमा चल्ने जानकारी गराउनुहुँदै उहाँले युवालाई स्वरोजगार बनाउन, जल जमिन, जडीबुटीकोको प्रयोग मार्फत लाभ लिन, उत्पादनका काममा जोडिन आग्रह गर्नुभयो । 

माओवादी नेतृत्वमा रहेका स्थानीय सरकारलाई पार्टीको निर्देशन र अन्य दलहरूको समन्वय तथा सहकार्यमा काम गर्न समेत शर्माले निर्देशन दिनुभयो । 

आठ वर्षदेखि बन्द अवस्थामा रहेको चौरजहारी विमानस्थलबारे अर्थमन्त्री शर्माले एयरपोर्ट विस्तार गरेर ठूला जहाज ल्याउने योजना बनाइएको बताउनुभयो । त्यसको लागि आफूले केन्द्रीय स्तरमा बजेटको व्यवस्था गर्ने र स्थानीय स्तरमा जनताले साथ दिनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । अर्थमन्त्री शर्माले सङ्घीयता र संविधानको रक्षा गर्ने दिशाबाट बाम लोकतान्त्रिक गठबन्धन चलेको बताउनुभयो । ‘हामी जनतासँग गरेको बाचाबाट विचलित नभएर लागिपरेका छौ,’ शर्माले भन्नुभयो, ‘सबै मिलेर गठबन्धनलाई सफल पारौँ ।’