• १२ मंसिर २०८१, बुधबार

देशमा सुशासन दिनका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

blog

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, कात्तिक ७ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको बागमती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले देशलाई सुशासन दिनका लागि गठबन्धन गरिएको बताउनुभएको हो ।

उहाँले गठबन्धनको एजेण्डा सुशासन भएको उल्लेख गर्नुभयो । देशलाई आज सुशासन चाहिएको भन्दै उहाँले आफूहरु सुशासनको पक्षमा उभिएको बताउनुभयो । देशमा सुशासन दिने नैतिक शक्ति भएका मानिसहरु गठबन्धनमा आबद्ध भएको उहाँको धारणा छ । वरिष्ठ नेता पौडेलले गठबन्धनको एजेण्डा लोकतन्त्र र दिगो शान्ति भएको पनि स्पष्ट पार्नुभयो ।

नेता पौडेलले भन्नुभयो, ‘‘हामी यो देशको प्रगतीको लागि सुशासनको एजेण्डामा लडेका छौँ । यो मुलुकमा आज सबैभन्दा खड्केको कुरा सुशासन हो । त्यो सुशासनको पक्षमा हामी खडा भएका छौँ । देशलाई सुशासन दिएर मुलुकको प्रगती अगाडि बढाउने । यो सुशासन दिने नैतिक सामथ्र्य भएका मानिसहरुपनि यही पक्षमा छन् । यहाँ छन् सुशासन दिनसक्ने नैतिक शक्ति भएका मानिसहरु । देशलाई आज सुशासन चाहिएको छ । हामी सुशासनको मुद्दामा चुनाव लडिरहेका छौँ ।’’

पाँचदलीय गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहनुभएका वरिष्ठ नेता पौडेलले निर्वाचनका लागि देशमा दुईवटा गठबन्धन बनेको बताउनुभयो । उहाँले बाख्रा बाख्रासित र भेडा भेडासित भनेझैँ जनताको पक्ष चाहनेहरु एकातिर र प्रतिगमन चाहनेहरु अर्कोतिर भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘भन्छन् बाख्रा बाख्रासित भेडा भेडासित । राजा चाहने, प्रतिगमन चाहने, हिजोको व्यवस्था फर्काउन चाहने एकातिर । जनताको पक्ष चाहने, जनतालाई अधिकार दिलाउन चाहने, दलितलाई, पीडितलाई, शोषितलाई, उत्पीडितलाई सम्पूर्ण जनतालाई, आज महिला, पिछडिएको वर्गलाई अधिकार दिलाउन चाहने जनताको र यो मुलुकको प्रगति चाहने, राष्ट्रियता र प्रजातन्त्र चाहनेहरु एकातिर । यो गठबन्धन दुईतिर छ प्रष्टैसँग । बाख्रा बाख्रासँग, भेडा भेडासँगै भएकाे यो गठबन्धन हो त्यसमा कुनै शङ्का छैन । त्यता एउटा गठबन्धन भएको छ । त्यसको अनुहार तपाईहरुले हेर्नुस् त्यहाँ को–को छन् ? यता पनि एउटा गठबन्धन भएको छ । यहाँ हेर्नुस् को–को छन् ?’’

पौडेलले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउनका लागि एक स्वरमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । देशलाई सङ्कटतर्फ धकेल्न राष्ट्रवादको मुखुण्डोमा छद्मभेषी राजनीति भइरहेको भन्दै उहाँले देशलाई जोगाउनका लागि आपसी सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले माओवादीको चुनाव चिह्न हँसियाहथौडासँग नझस्किन र नतर्सिन पनि आग्रह गर्नुभयो । हँसियाहथौडामा लोकतन्त्रको घेरा लागेको भन्दै उहाँले त्यसमा मतदान गर्न निर्देशन दिनुभयो ।

वरिष्ठ नेता पौडेलले विस्तृत शान्ति सम्झौता गरेदेखि नै शान्ति, लोकतन्त्र र गणतन्त्रको पक्षमा आफूहरु एकजुट भएको र एउटै विचार लिएर अगाडि बढेको बताउनुभयो ।