• २० वैशाख २०८१, बिहिबार

सल्यानमा जिप दुर्घटना : आठ घाइते

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, कात्तिक ६ गते । सल्यानमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदैगरेको लु १ ज १४२४ नम्बरको सफारी जिप सल्यान कपुरकोट गाउँपालिका १ सारपानी खोरबारेमा दिउँसो दुर्घटना भएको हो । 

दुर्घटनामा परी सल्यान त्रिवेणी गाउँपालिका –२ सिमखोलाकी ४२ वर्षीया निमकुमारी बुढा, सोही ठाउँका २५ वर्षीया रिमाकुमारी बुढा, रोल्पा त्रिवेणी गाउँपालिका –४ सिमपानीका २१ वर्षीया प्रगति घर्ती, २२ वर्षीया झरना घर्ती ५४ वर्षीय बम घर्ती, ४६ वर्षीय रणवीर घर्ती, ५१ वर्षीय गङ्गाप्रसाद राना र सल्यान त्रिवेणी गाउँपालिका –२ सिमखोलाका ४८ वर्षीय खडकबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले घाइते सबैलाई प्रादेशिक अस्पताल दाङ तुलसीपुर पठाइएको बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये निमकुमारी, रिमा र प्रगतिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

उकालो चढ्नेक्रममा चढ्न नसकी ब्याक हुँदा जिप सडकबाट अन्दाजी ४५ मिटर तल खसेको छ । जिपमा १५ जना यात्रु सवार रहेका थिए । जिप चालक दाङ तुलसीपुर उपमहानगरपालिका –३ का प्रेमबहादुर ओलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।