• २० वैशाख २०८१, बिहिबार

कृषकलाई आलुको बीउ वितरण

blog

कृषि ज्ञान केन्द्र र त्रिवेणी नगरपालिकाको समन्वयमा त्रिवेणीका कृषकलाई आलुको बीउ वितरण गरिँदै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक ६ गते । कृषि ज्ञान केन्द्र बाजुराको अनुदान र त्रिवेणी नगरपालिकाको समन्वयमा त्रिवेणी नगरपालिकाका आलु खेती गर्ने कृषकका लागि हिउँदे आलुको बीउ वितरण गरेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराको अनुदान र पालिकाको समन्वयमा पचास प्रतिशत छुटमा सो आलुको बीउ वितरण गरेको हो । त्रिवेणी नगरपालिका कृषि विकास शाखाका प्रमुख मानबहादुर रावलले, यतिबेला हिउँदे आलु लगाउने समय भएकाले आलु खेती गर्ने चाहना भएका कृषकलाई सहज हुनेगरी पचास प्रतिशतमा नयाँ आलुको बीउ वितरण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले बाजुरामा वर्षातका कारण आलुको अभाव भएकाले हिउँदको महिना आलु खेती गर्ने कृषकलाई सहज हुनेगरी पचास प्रतिशत अनुदानमा यो आलुको बीउ वितरण गरिएको हो ।’ 

त्रिवेणी नगरपालिकाका कृषकले आजबाट त्रिवेणीको मौरबाट पचास प्रतिशत छुटमा आलुको बीउ उपलब्ध गर्न सकिने प्रमुख रावलले बताउनुभयो । बाजुरामा यतिबेला हिउँदे आलु लगाउने समय भए पनि कृषकहरूले कतैबाट बीउ प्राप्त गर्न नसकेकाले कृषि ज्ञान केन्द्र बाजुरा र त्रिवेणी नगरपालिकाको समन्वयमा कृषकलाई आलुको बीउ वितरण गरिएको हो । 

कृषि विकास शाखा प्रमुख रावलले २०७९ कात्तिक ६ गतेदेखि त्रिवेणी नगरपालिका ८ झालगाउँका मनबहादुर साउँद, चक्र गिरी र बुढिगङ्गा नगरपालिका –६ को मौरेपुलमा करराज गिरीको पसलबाट आलुको बीउ वितरण भइरहेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाजुराको अनुदान र पालिकाको समन्वयमा ५० प्रतिशत मूल्य अनुदानमा बीउ आलु वितरण हुनेभएकोले निवेदन मार्फत माग गरेका र माग गर्न छुटेका अर्थात् माग नगरेका कृषकलाई समेत आलुको बीउ दिन सकिने रावलले बताउनुभयो ।