• १९ असोज २०८१, शनिबार

कुखुरा बोक्ने खोरमा मासु ढुवानी

blog

जिउँदो कुखुरा बोक्न गाडीमा कुखुराको मासु ढुवानी । तस्बिर : काठमाडौं महानगर

काठमाडौं, कात्तिक ५ गते । जिउँदो कुखुरा बोक्ने गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाइएको छ । शनिबार काठमाडौं महानगरको अनुगमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो ।

प्र.३–०१, ०२३ च २३८७ नंं को दोलखाली कोल्ड स्टोरको गाडीमा दुई सय वटा भुत्ला फालिएका सिङ्गै कुखुरा थिए । चालक भुवन गुरुङ्का अनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र सात केजी पाङ्ग्रा थिए । टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो । मासुजन्य खाद्य वस्तुका रुपमा प्रयोग हुने यी मासुजन्य खाद्यवस्तु खुल्ला र असुरक्षित  थियो ।

अनुगमन टोलीका संयोजक डा. अवधेश झाले पक्राउ परेपछि गुरुङ्ले उहाँका साहु कुवीर सुनारलाई बोलाउनु भएको र सुनार करिब २० मिनेटमा आइपुग्नुभएको जानकारी दिनुभयो । 

अनुगमन टोलीले अस्वस्थकर ढुवानीका विषयमा सोधेको प्रश्नको उत्तरमा सुनारले आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको, हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरिएको र हिजो नै गाडी दुर्घटनामा परेकाले आज यसरी ढुवानी गर्नुपरेको बाध्यता सुनारले सुनाउनुभयो ।


सुनारका अनुसार कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको यो मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गर्ने तयारी थियो ।

अनुगमन टोलीका संयोजक डा. झाका अनुसार यसरी भेटिएको मासु बिक्रीमा रोक लगाइएको छ । महानगरले पशु सेवा विभागलाई पत्राचार गरेर परीक्षण गराउँछ । यसबाट मासुको स्वच्छता देखिएको अवस्थाका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने संयोजक झाले जानकारी दिनुभयो ।

आज नै चाबहिल क्षेत्रका मिठाई पसलहरुको पनि अनुगमन गरिएको छ । अन्य ठाउँमा जस्तै यी ठाउँका पसलमा पनि भान्छा फोहोर हुने, म्याद सकिएका रङ्गको प्रयोग गर्ने, फ्रिज सफा नगर्ने, व्यक्तिगत सफाइमा ध्यान नदिने जस्ता समस्या देखिएको उहाँले बताउनुभयो ।