• १८ असोज २०८१, शुक्रबार

स्वदेशी चाड विदेशी सामान

blog

तिहार सुरु हुँदै छ । यसको चहलपहल बजारमा ह्वात्तै बढेको छ । चाडपर्वहरू मिठो खाने, राम्रो लाउने र पारिवारिक मिलनको अवसर हो । अनि किन नबढोस् त बजारमा चहलपहल तर चाडपर्वमा उपभोग्य अधिकांश वस्तु र सामान भने आयातमै निर्भर छ; जसका कारण तिहारको बेला पनि ठूलो स्वदेशी पुँजी बाहिरिँदै आएको छ । 

कृषिप्रधान मुलुक भए पनि तिहारमा सयपत्री फूलको माला, टीका, झिलिमिली बत्ती, भाइमसला, फलफूलदेखि लत्ताकपडासम्म विदेशकै भर पर्नु परेको छ । यसले मुलुकको निर्यातभन्दा आयात चुलिएको छ । दैनिक उपभोग्य वस्तु पनि आयात गर्नुपर्ने बाध्यताकै कारण आयात चुलिएको हो । मुलुकले यतिबेला तरलता समस्या झेलिरहेको छ । चुलिँदै गएको आयातले विदेशी मुद्रा सञ्चिति निरन्तर घट्दो छ । दिनहुँ बढिरहेको डलरको मूल्य अर्को चुनौती बनेको छ । दशैँतिहारका अवसरमा लत्ताकपडासहित विभिन्न सामान किनमेल गर्नुपर्छ । चाडपर्वमा मन फुकाएरै गरिने खर्चले पछिल्लो समय नगदमा आधारित अर्थतन्त्र फस्टाएको छ । 

खाद्यपदार्थ, लत्ताकपडादेखि गरगहना, गाडी–मोटरदेखि टीभी, फ्रिज र वासिङ मेसिनजस्ता विद्युतीय उपकरण, भाँडाकुँडा, मरमसला, माछामासु र फलफूल तथा अत्यावश्यक वस्तुदेखि मदिरा र विलासी सामानको उपभोग र व्यापार जति बढ्छ, त्यति नै व्यापारघाटाको पारो उकालो लाग्ने गर्छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार २०७९ असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति साउनमा १.५ प्रतिशतले कमी भएको छ। २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड रुपियाँ कायम भएको छ। यता २०७९/८० को पहिलो महिनाको आयात हेर्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु आयात र आठ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्नेछ।

२५ करोडको झिलिमिली बत्ती

तिहारकै लागि विगतमा ३५ देखि ४० करोड रुपियाँ बराबरको आयात हुने गरेको झिलिमिली बत्तीको आयातमा सङ्कुचन आएर २५ करोडमा झरेको छ । सरकारले आयातमा गरेको बन्देज र पछिल्लो समय आर्थिक मन्दीले गर्दा आयात र बिक्री दुवैमा कमी आएको बताउनुहुन्छ नेपाल विद्युत् व्यापार महासङ्घका अध्यक्ष सुदर्शन पौडेल ।

अध्यक्ष पौडेलका अनुसार अहिले उत्साहजनक छैन व्यवसाय, सरकारले आयातमा गरेको कडाइले पर्याप्त आयात पनि भएको छैन । शतप्रतिशत क्यास मार्जिनमा काम गर्नुपर्ने तथा आर्थिक मन्दीले बजारमा विगतमा जस्तो चहलपहल छैन । अघिल्ला वर्षमा तिहारका लागि दशैँदेखि नै चहलपहल सुरु हुन्थ्यो । विगत सम्झँदै पौडेल भन्नुहुन्छ, “फेस्टिभल लाइट मात्रै ३५ देखि ४० करोड रुपियाँ बराबरको आयात हुन्थ्यो । यो वर्ष २० देखि २५ करोड रुपियाँको मात्रै आयात भएको छ ।”

यो बेला झिलिमिली बत्तीका साथै अरू विद्युतीय सामानको पनि व्यापार बढ्छ । “तिहार भनेकै उज्यालोको चाड भएकाले झिलिमिली मात्रै नभएर सरसफाइका क्रममा जलेका बत्तीहरू पनि यो बेला फेर्ने गरिन्छ । पछिल्ला वर्षहरूमा नयाँ घर बनाएर सर्ने साइत नै यो बेला गरिन्थ्योे । अहिले निर्माण पनि कम भएको छ; जसले गर्दा व्यापारमा कमी आएको छ ।” यो व्यवसायको निर्माणसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । यो व्यवसायमा ९० प्रतिशत चीनबाट र बाँकी १० प्रतिशत भारतबाट आयात हुने सामानको कारोबार हुँदै आएको छ ।

एक अर्बको भाइमसला

तिहारमा सबैले खोज्ने भाइमसलाको व्यापार पनि बढ्दो छ । यो वर्ष एक अर्ब रुपियाँको भाइमसला खपत हुने बताउनुहुन्छ, नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्र वज्राचार्य । पछिल्लो समय काजु, नरिवल, छोकडा, किसमिस, पेस्ता, बदामलगायतका चिज खानलाई उपभोक्ताले तिहार नै कुर्दैनन् । यद्यपि शतप्रतिशत आयातमा निर्भर यो व्यवसाय आवश्यकीय कुरामै पर्छ ।

खाद्यान्नको बजार त सधैँ उस्तै नै हो । सबैले खाइरहने हुन् । खाइरहेका पनि छन् । तिहारमा भाइमसलाको बढी मात्रामा बिक्री वितरण हुने र अरू बेलाभन्दा महँगो यसपालि भएन । स्वास्थ्यका लागि पनि मानिसले खान थालेका कारण यसको बजार अन्य बेलामा पनि हुने गरेको वज्राचार्यको अनुभव छ ।

साढे १३ करोडभन्दा बढीको फूलमाला

सयपत्री, मखमली र गोदावरी गरेर २४ लाख माला तिहारमा व्यावसायिक रूपमा खपत हुने गरेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यो तिहारमा साढे १३ करोड रुपियाँभन्दा बढीको फूल कारोबार हुने अनुमान छ । यो थोक मूल्यको आधारमा गरिएको आँकलन भएको हुँदा उपभोक्तासम्म पुग्दा कारोबार बढ्ने उहाँको भनाइ छ ।

मखमली र गोदावरी फूल आयात गर्न पर्दैन । स्थानीय उत्पादनले पुग्छ । सयपत्री फूलको माला भारतबाट पनि आयात गर्नुपर्छ । यो वर्षको तिहारमा २० लाख सयपत्री फूल, तीन लाख मखमली र २० हजार गोदावरी माला खपत हुने अनुमान गरिएको छ । २० लाख सयपत्री मालामध्ये तीन लाख माला भारतबाट आउने अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय फूल उत्पादनमा नेपाल आत्मनिर्भरताको नजिक पुगेको छ । तिहारकै लागि सयपत्री र भ्यालेन्टाइन डेको बेलामा गुलाफ केही प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था सुनाउँदै अध्यक्ष तामाङ भन्नुहुन्छ, “तिहार र भ्यालेन्टाइन डेका लागि लक्षित गर्दै उत्पादन बढाइयो भने पनि अरू बेला बजार नपाउने समस्या हुन्छ ।”

नेपालमा सातवटै प्रदेशका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा सयपत्री फूलको खेती भइरहेको छ । त्यसमध्ये काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली आदि जिल्ला छन् । यही जिल्लाका फूल तिहारमा खपत हुने एसोसिएसनले जनाएको छ । त्यस्तै काठमाडौँको इचङ्गुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी, बढिखेल, कैलाली, पाल्पा, धादिङ र इलाम आदि क्षेत्रमा मखमली फूलको व्यावसायिक खेती भइरहेको हुनाले तिहारमा यही फूलले बजारको माग धान्छ । 

आयात भएन मदिरा

यसपालिको तिहारमा महँगा विदेशी ब्रान्डका मदिराको कारोबार नहुने भएको छ । विदेशी मुद्रा सञ्चितिलाई ध्यानमा राखेर सरकारले केही विलासिताका वस्तुमाथि लगाउँदै आएको आयात प्रतिबन्धलाई आगामी मङ्सिर मसान्तसम्म कायम राखेपछि तिहारमा महँगो मदिराको आयात भएन । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिइरहेको छ ।