• १६ भदौ २०८१, आइतबार

सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग

blog

मोगादिसु, कात्तिक ४ गते । सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सोमालियामा अहिले करिब ७६ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेकाले त्यसको सहयोगका लागि उक्त रकम चाहिएको बताइएको हो । संयुक्त राष्ट्रसङ्घीय सहायता निकायहरुले सो कुराको जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सी तथा संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका सोमालियाली उपमहासचिव आदम अब्देलमुल्लाहले सो कुराको जानकारी दिनुभएको हो ।

उपमहासचिव आदम र ती निकायहरुले शुक्रबार सो कुराको जानकारी दिनुभयो । उहाँले भन्नुभएको छ–सोमालियामा दिनप्रतिदिन मानवीय सहायताको खाँचो परिरहेको र यसका लागि विश्वका सहायाता एजेन्सीहरुले सहयोगको मात्रालाई थप बढाउनुपर्ने आवश्यकता छ । अन्यथा केही महिनामा नै यहाँको अवस्था निकै नै नाजुक हुनेछ ।

उहाँले यहाँ खाद्यान्नको अभाव भएको, जसका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको, कतिपय स्थानमा त औषधिको आपूर्ति पनि आवश्यक मात्रामा गर्न नसकिएको पाइएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । रासस/सिन्हवा