• २० असोज २०८१, आइतबार

आगामी निर्वाचन सामान्य होइन : अध्यक्ष दाहाल

blog

लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको शुभकामना आदानप्रदान तथा निर्वाचन परिचालन घोषणा कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं, कात्तिक ४ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन नेता, कार्यकर्ताहरूसमक्ष आग्रह गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखापरेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मङ्सिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै हुँदैछैन । किनकि केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखा परे । संविधान मिच्ने र त्यसलाई निरङ्कुशता र अराजकताको भुमरीतिर फेरि धकेल्ने कसरतहरू भए । त्यो प्रवृत्ति, विचारका विरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो ।’’

नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरङ्कुशता र अराजकताको भुमरीतिर फेरि धकेल्ने कसरतहरू गरिरहेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताउनुभयो । उहाँले आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने की हार्ने भन्ने कुराको निर्धारण गर्ने बताउनुभयो । अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्नुभयो । उहाँले गठबन्धनबिरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैँ नबुझ्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘‘अहिले दुई वटा विचार, प्रवृत्ति आम्नेसामने भएका छन् । एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर । एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर । एउटा लोकतन्त्रका विरुद्ध अर्को लोकतन्त्रका पक्षमा । त्यसकारण ४ गतेको निर्वाचन सामान्य छैन । देशले जित्ने हो की होइन, संविधानले जित्ने हो की होइन, लोकतन्त्रले जित्ने हो की होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मङ्सिर ४ गतेको निर्वाचनले । यसलाई गम्भीरतापूर्वक आत्मसाथ गरी जनताको बीचमा बुझाउन आग्रह गर्दछु । यहाँ विभिन्न प्रचारबाजी भएका छन् । गठबन्धन अहिले मात्रै बनको जसरी बुझ्नुपनि उचित हुँदैन ।’’

अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानुन निर्माणमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।