• १३ साउन २०८१, आइतबार

निर्वाचन प्रचारका लागि कमिटी गठन

blog

राजन रावत

हुम्ला, कात्तिक ३ गते । नेकपा (एमाले) हुम्लाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वडादेखि जिल्ला तहसम्म प्रचार प्रसार कमिटी तथा उपकमिटी गठन गरेको छ । सो पार्टीको पाँचौँ विस्तारित बैठकले विभिन्न कमिटी तथा उपकमिटी गठन गरेको हो ।  

बैठकबारे जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव तीर्थराज बोहराले पार्टी अध्यक्ष कलबहादुर हमालको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको बताउनुभयो । त्यसैगरी बैठकले प्रदेश सभा क्षेत्रअनुसार क्षेत्र नं. १ का इन्चार्ज ज्ञानी बुमीको संयोजकत्वमा २०१ र क्षेत्र २ का इन्चार्ज महेन्द्रबहादुुर शाहीको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन क्षेत्र परिचालन कमिटी गठन गरेको छ । 

सोहीअनुसार गाउँपालिका स्तरमा पनि निर्वाचन परिचालन कमिटी गठन गरिएको सो दलले जनाएको छ । जसमा नाम्खा गाउँपालिकामा तोपछिरिङ लामा, सिमकोटमा चीन रावत, खार्पुनाथमा प्रकाशबहादुर शाही, सर्केगार्डमा भिमबहादुर शाही, चङ्खेलीमा टेकबहादुुर शाही, अदानचुलीमा बुध भण्डारी र ताँजाकोटमा नरदीप थापाको संयोजकत्वमा १०१ सदस्यीय गाउँपालिकामा कमिटी गठन गरेको जनाएको छ । 

त्यसैगरी जिल्ला कमिटी सचिव तीर्थराज बोहराको संयोजकत्वमा ५५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटी गठन गरिएको एमालेले जनाएको छ । त्यस्तै, बैठकले पार्टी उपसचिव चन्द्रप्रकाश ढकालको संयोजकत्वमा तीन सदस्यीय आर्थिक परिचालन कमिटी, युवा सङ्घका केन्द्रीय सदस्य एवम् हुम्ला इन्चार्ज उपेन्द्र शाहीको संयोजकत्वमा ३०१ सदस्यीय स्वयंसेवक परिचालन कमिटी गठन गरेको छ । 

त्यस्तै, प्रदेश सभा निर्वाचनका लागि क्षेत्र १ को सम्पर्क कार्यालय अदानचुली गाउँपालिकाको श्रीनगर, क्षेत्र २ को लागि सिमकोटमा सम्पर्क कार्यालय सञ्चालन गर्ने र उपसचिव ढकालको संयोजकत्वमा पाँच सदस्यीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन कमिटी गठन गर्ने निर्णय बैठकले गरेको सचिव बोहराले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुुर बोगटी, प्रतिनिधि सभा सदस्य पदका प्रत्याशी दल रावल, प्रदेश सभा सदस्य क्षेत्र १ का प्रत्याशी दलबहादुर फडेरा र क्षेत्र २ का प्रत्याशी छक्कबहादुर लामा लगायतको सहभागिता थियो ।