• १३ असोज २०८१, आइतबार

सिन्धुपाल्चोक-१ मा गठबन्धन र एमालेको प्रतिस्पर्धा

blog

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र-१ गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार माधव सापकोटा र एमालेबाट प्रतिनिधि सभा उम्मेदवार सरेश नेपाल। तस्बिर : चित्र मिजार

चित्र मिजार 

सिन्धुपाल्चोक, कातिक ३ गते । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा गठबन्धन, नेकपा (एमाले)लगायतका दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा उम्मेदवार छन्। नेकपा एमालेबाट सरेश नेपाल, कृष्णबहादुर ठकुरी नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ग्याल्जेन शेर्पा, जनता समाजवादी पार्टी नेपालबाट डिबीसिंह लामा, मङ्गोल नेशनल अगर्नाइजेशन पार्टीबाट दाबा लामा प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्छ। 

त्यस्तै दिनेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी, नारायण पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी, विष्णुप्रसाद पौडेल स्वतन्त्र, मुकुन्द श्रेष्ठ स्वतन्त्र, रामकुमार जिसी स्वतन्त्र, वीरबहादुर तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सोमनोर्बु शेर्पा आमूल परिवर्तन पार्टी र नेपाल मजदुर किसान पार्टीबाट हरिलक्ष्मी दनेखु प्रतिनिधि सभा-१ को उम्मेदवार हुनुहुन्छ। १४ जना उम्मेदवार बने पनि मुख्य प्रतिस्पर्धा गठबन्धनका सापकोटा र एमालेका नेपालबीच हुने देखिन्छ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र–१ गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार माधव सापकोटा (बीचमा), प्रदेश सभा सदस्य उम्मेदवार मसिना खड्का भण्डारी र सरल सहयात्री पौडेल । 

गठबन्धन र एमाले प्रतिस्पर्धामा 

प्रतिनिधि सभा–१ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), समाजवादी, लोसपा र जनमोर्चा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा र नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपालबीच प्रतिस्पर्धा हुने देखिन्छ।

४१ वर्षीय गठबन्धनका उम्मेदवार माधव सापकोटा जनप्रतिनिधि र प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुनुहुन्छ। जनप्रतिनिधि भएर जनताको काम गरेको उहाँसँग अहिलेसम्म कुनै अनुभव छैन। सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भतिजा हुनुहुन्छ। 


सिन्धुपाल्चोक एमालेबाट प्रतिनिधि सभा उम्मेदवार सरेश नेपाल (बीचमा), प्रदेश सभा उम्मेदवार युद्धविक्रम लामा डिबी, होमनारायण श्रेष्ठ ।  

एमालेका पुराना र केन्द्रीय सदस्यसमेत रहनुभएका सरेश नेपाल २०७४ सालमा भारी मतले बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ अहिले सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ बाट प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ। 

प्रदेशसभामा कडा प्रतिस्पर्धा

निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा गठबन्धनबाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी र एमालेका युद्धविक्रम लामा (डिबी) मुख्य प्रतिस्पर्धी हुनुहुन्छ। स्थानीय चुनावमा उक्त प्रदेश सभामा कांग्रेसले १४ हजार ७५५, नेकपा(माओवादी केन्द्र) ले  चार हजार ७८९ र समाजवादीको ८९१ मत ल्याएका छन्। एमालेको १० हजार ३६६ र राप्रपाको ७८९ मत रहेको छ। 

यस्तै प्रतिनिधि सभा-१ को ‘ख’ प्रदेश सभामा गठबन्धनका उम्मेदवार सरल सहयात्री पौडेल र एमालेका होमनारायण श्रेष्ठ मुख्य प्रतिस्पर्धी हुनुहुन्छ। स्थानीय तह निर्वाचनमा कांगे्रसले २० हजार २०६, नेकपा (माओवादी केन्द्र) १४ हजार ५५४, समाजवादीले १५ सय मत ल्याएका छन्। यो क्षेत्रमा एमालेले १६ हजार १९३ र राप्रपाले ४२२ मत ल्याएका छन्।