• १३ साउन २०८१, आइतबार

ओलीसँग चौबीस जनाको प्रतिस्पर्धा

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १ गते । प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ ले सबैको ध्यान तानेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ।

सत्तासीन गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीसहित २५ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको छ। अघिल्लो निर्वाचनमा अधिकारीलाई दोब्बर मतान्तरले ओलीले जित हासिल गर्नुभएको थियो।

२०७४ सालको निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याउनुभएको थियो भने अधिकारीले २८ हजार २९७ मत पाउनुभएको थियो। त्यो समयमा तत्कालीन अवस्थामा नेकपा (माओवादी केन्द्र) र कमल थापा अध्यक्ष रहेको राप्रपाको समर्थन ओलीलाई रहेको थियो।

 यो पटक पनि ओलीलाई राप्रपाको समर्थन रहेको छ। यस क्षेत्र राप्रपाको पकड भएको क्षेत्र मानिन्छ, राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा केही महिनाअघि भएको स्थानीय निर्वाचनमा नगरप्रमुखमा विजयी बन्नुभएको थियो। अहिले दुवै पक्ष राप्रपाको मतबाट जित्ने ध्यानमा लागेको देखिन्छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ २५ जनाको उम्मेदवारी रहेको छ। दुई महिलासहित १२ जना स्वतन्त्र छन्। यो क्षेत्रमा एक लाख ५४ हजार २८९ जना मतदाता रहेका छन्। 

दमक र गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिका गरेर चारवटा पालिका यस क्षेत्रमा पर्छन्। ओलीसँग प्रमुख प्रतिस्पर्धी हुनसक्ने आकलन गरिएका गठबन्धनका उम्मेदवार अधिकारी प्राध्यापन पेसा छाडेर पाँच वर्षअघि ओलीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्न यहाँ आउनुभएको थियो।