• १३ असोज २०८१, आइतबार

केशरीको पदचिह्नमा जयरानी

blog

आइतबार चार सय मिटर हर्डल्समा कीर्निमानी स्वर्ण जित्ने क्रममा जयरानी थारु । तस्बिर : विकास द्वारे

प्रजित शाक्य

पोखरा, असोज ३० गते । राष्ट्रिय खेलकुदमा सहभागी छ हजारभन्दा बढी खेलाडीबीच यसपालि केही खेलाडी मात्र पक्का स्वर्ण पदक जित्ने खेलाडीको रूपमा रहेका छन् ।

यस सूचीमा एथलेटिक्सकी २१ वर्षीया जयरानी थारुको पनि नाम आउँछ । किनभने अहिले उहाँलाई एथलेटिक्सकी रानी पनि भनिन्छ । 

चार महिनाअघि काठमाडौँ भएको ४४ औँ राष्ट्रिय एथलेटिक्समा जयरानी चार स्वर्ण र एक रजतसहित सहभागी सबै विधामा पदक जितेर सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । त्यसपछि जयरानीको चर्चा चुलिएको हो । अहिले नवौँ राष्ट्रिय खेलकुदमा पनि हेर्नलायक खेलाडीमध्ये एक हुनुहुन्छ ।

जयरानीले आइतबार चार सय मिटर हर्डल्स एकपक्षीयरुपमा जितेर स्वर्ण पदकको खाता पनि खोल्नुभएको छ । उहाँले स्वर्ण पदक जित्ने क्रममा आफ्नै राष्ट्रिय कीर्तिमान पनि भड्क गर्नुभयो ।

गत असारमा जयरानीले १ मिनेट ७.२ सेकेण्डमा दूरी पूरा गरी सविता चौधरीको नाममा रहेको कीर्तिमान भड्क गर्नुभएको थियो । नवौँ राष्ट्रिय खेलकुदमा १ मिनेट ०४.१३ सकेन्डमा दौड पुरा गरी आफ्नै कीर्तिमानमा सुधार गर्नुभयो ।

जयरानीको नाममा एक सय मिटर हर्डल्सको राष्ट्रिय कीर्तिमान पनि छ । त्यसैले पनि उहाँले जितपछि भन्नुभयो– ‘‘यो मेरो बाधा दौड मेरै विधा हो, म स्वर्ण जित्नेमा विश्वस्त थिएँ ।’’ जयरानीले एपीएफकी भागरती कुमार थारु (१ मिनेट ०६.६ सकेन्ड) र कल्पना श्रेष्ठ (१ मिनेट ६.५१ सकेन्ड)लाई पछाडि पार्नुभएको हो ।

बर्दियाको मधुवन नगरपालिका २ सुन्दरपुरकी जयरानीले आर्मीमा अनुबन्ध भएपछि राष्ट्रिय प्रतियोगिताका लागि भने तीन वर्ष कुर्नुपरेको छ । कोरोना महामारीका कारण प्रतियोगिता नहुनुको मारमा अन्य खेलाडीसरह उहाँ पनि पर्नुभएको हो ।

तर उहाँले नियमित प्रशिक्षणमा गर्न छोड्नुभएन । त्यसैले राष्ट्रिय एथलेटिक्ससरह राष्ट्रिय खेलकुदमा पनि उहाँ राम्रो लयमा देखिनुभएको छ । जयरानी राष्ट्रपति रनिङ शिल्डबाट दृश्यमा आएकी खेलाडी भन्दा हुन्छ ।

राष्ट्रपति रनिड पहिलो सहभागितामै गरेको प्रदर्शनपछि जयरानी थारु सातौँ राष्ट्रिय खेलकुदमा १४ वर्षकै उमेरमा लुम्बिनीको टिममा समावेश गराइएको हो ।

सो समय महिला एथलेटिक्समा केशरी चौधरीको दबदबा थियो । उहाँ भन्नुहुन्छ–‘‘त्यसैबेला मैले दिदी केशरीसरह नेपाली एथलेटिक्समा आफ्नो नाम राख्ने अठोट गरेकी हुँ ।’’

अहिले जयरानीलाई अर्को केशरी चौधरी पनि भनिन्छ । एथलेटिक्सका राष्ट्रिय प्रशिक्षक धनीराम चौधरीले उमेर साथमा हुँदा जयरानीले केशरीले भन्दा बढी उपलब्धि दिलाउन सक्ने बताउनुहुन्छ ।