• १० मंसिर २०८१, सोमबार

हाम्रा बा हुन्नन् [कथा]

blog

प्रमाणपत्र तहको अन्तिम सेमेस्टरको परीक्षा दिएर म लामो बिदामा घर फर्कें । दुई वर्ष अध्ययनपछिको मेरो थकान बिसाउने त्यो त्राण थियो । यताउता हल्लिँदै रल्लिँदै र साथीभाइ एवं आफन्तहरूको भेटघाटमा १०–१२ दिन मजासँग बित्यो । त्यसपछिका दिन कट्न मुस्किल हुन थालिसकेका थिए । के गरौँ ? कसो गरौँ ? कहाँ जाऔँ ? भन्ने कुराको छटपटाहटमा म गुम्सिन थालेँ । दुई÷तीन महिनाभन्दा अघि परीक्षाफल आउने कुरा सम्भव थिएन । बाँकी दिन कसरी बिताउने भन्ने समस्याले म त्रसित हुन थालेँ । 

शनिबारको दिन थियो । बजारमा म एक्लै बरालिरहेको थिएँ । मैले पढेको विद्यालयको हेडसरसँग जम्काभेट भयो । यसरी लामो समयपछिको भेटले दुवै हर्षित भयौँ । बाटोमाथिको होटेलमा चिया पिउँदै आपसको हालचाल र भलाकुसारी ग-यौँ । चिया पिउँदै सोध्नुभयो, “खाली छौ हैन ?” मैले झटपट बोलेँ “आएको दुई हप्ता भो, रिजल्ट आउन डेढ महिना अझै लाग्ने होला, समय काट्नै मुस्किल ।” हेडसरले मतर्फ ध्यान दिएर हेर्दै भन्नु भयो, “ल सुन स्कुलमा पढाउने शिक्षकको कमी छ । भोलिदेखि तिमी स्कुल आऊ । अँ... तिम्रो तलबको व्यवस्था पनि म गर्छु ।” के खोज्दा के पाइयो भनेझैँ म गद्गद् भएँ । म बोल्न सकिनँ । मेरो कुममा आफ्नो हात राख्दै सोध्नुभयो, “के गर्छौं त आउँछौ ? तिम्लाई फुर्सद छ भने मात्र । कर छैन बाबु ।” मैले हडबढाउँदै स्वीकृति दिएँ, “हैन सर, म खाली छु । भोलिदेखि नै पढाउन आउँछु । जति बस्छु तलब नलिएर पढाउँछु । आफू पढेको स्कुल हो, मैले सकेको योगदान दिन चाहन्छु सर ।” उहाँले मलाई धाप मार्दै खुसी हुनुभयो । “ओहो ! गुड । धेरै खुसी लाग्यो । ल बाबु म अहिले लागेँ । भोलिदेखि स्कुलमा रमाइलो गरौँला ।” “हस् ! नमस्कार सर ।” म एकछिन चुपचाप बसेँ । भर्खर युवावय टेकेको त्यस समयमा प्रथम पटक शिक्षक हुने अवसरले पुलकित हुँदै म घरतर्फ लागेँ ।

स्कुलमा एक प्रकारको मेरो स्वयंसेवी शिक्षण सेवा थियो । दिनमा तीनवटा कक्षा पढाएर म घर फर्कन्थेँ । इच्छानुकूल कार्यवहनले दिनहरू सजिलै बित्दै गए । सरहरू सबै मिलनसार र सहयोगी थिए । त्यो सार्थक समय खर्चिनु मेरा लागि भारी जीउ बिसाउनुजस्तै भएको थियो । परीक्षाफल आउने दिन गन्ती गर्न मैले बिर्सिदिएँ । 

पढाउन थालेको दोस्रो हप्तातिर विद्यालयमा एउटा समस्या आइलाग्यो । हेडसरले शिक्षकहरूको बैठक बोलाउनुभयो । समस्या के थियो भने स्कुलको हाफटाइम अर्थात् एक बजेको खाजा खाने समयमा विद्यार्थीहरू भाग्ने प्रवृत्ति दिनानुदिन बढ्दै गएको बैठकमा अवगत भयो । त्यस विषयमा छलफल गरी के निक्र्योल निकालियो भने खाजा खाने समयपछि पनि हाजिरी लिने र जुन जुन विद्यार्थी गयल पर्छन्, उनीहरूलाई भोलिपल्टको पहिलो कक्षामा आवश्यक सजाय दिने साथसाथै उनीहरूका बाबुआमा अर्थात् अभिभावक भेट हुँदा सकभर सूचित गरिदिने । त्यो उपाय भोलिपल्टदेखि नै कडाइका साथ लागू हुँदै गयो । यसको परिणाम विद्यार्थीहरूको भाग्ने सङ्ख्या कम–कम हुँदै केही दिनपश्चात् ठप्प रोकियो । तर खाजा खाने समयपछि हाजिरी लिने कार्यको निरन्तरता थामिएको थिएन । एकदिन, खाजा खाने समयपछि मैले हाजिरी लिँदा एक जना विद्यार्थी भागेको पाएँ । भोलिपल्ट सोधपुछका लागि नाम टिपेर राखेँ । 

भोलिपल्टको पहिलो कक्षा सुरु भयो । उसको नाम बोलाएर बेन्चमाथि उठाएँ । ऊ बेन्चमाथि टाउको झुकाएर उभिइरह्यो । मैले उसको कान परक्क निमोठेर कराएँ, “जा त्याँ गएर मुर्गा बन् ।” ढोका नजिकैको कुनामा गएर ऊ मुर्गा बन्यो । अरू बाँकी विद्यार्थीहरू ऊतर्फ हेरेर हाँसिरहेका थिए । केहीबेर पढाएपछि मैले उठाएर उसलाई केरकार गर्न थालेँ, “ए गधा–हिजो हाफटाइममा किन भागिस् ?” ऊ चुपचाप । “अझ बोल्दैनस्, बदमास भन किन भागिस् ?” भन्दै मैले उसको अर्को कान पनि रातो बनाइदिएँ । ऊ टसमस भएन । मेरो रिसको पारो माथि चढ्दै गयो । गालामा दुई चड्कन दिएँ । “अटेर गरेको हेर । कुकुर ! गधा ! गएर तेरो बाउलाई भन्दिन्छु । भन तेरो बाउको नाउँ के हो ?” उसले टाउको झुकाइरहेको थियो । साथीहरूले उसलाई एकटकले हेरिरहेका थिए । म एकोहोरो कराइरहेको थिएँ, “भन् तेरो बाउको नाम के हो ? के हो ?” दुई चार छडी खाइसकेपछि राता राता आँखा साथीहरूतर्फ घुमाउँदै बल्ल बोल्यो, “हाम्रा बा हुन्नन् ।” म अलमलमा परेँ “के भन्दैछ यल्ले, तेरो बा को हो ?” फेरि उस्तै जवाफ, “हाम्रा बा हुन्नन्, हाम्रा बा हुन्नन् के ।” 

अब भने म गोलचक्करमा परेँ । मैले छडी ताकेँ । ऊ करायो, “मलाई नमार सर, बत्तु (बरु) भोलि म नभागिदिउँला सर, पढिदिउँला । हाम्रा बा हुन्नन् सर ।” मैले आफ्नो हाँसो रोक्दै कराएँ, “ओहो ! यसले मेरा लागि पढिदिने, नभागिदिने पो भन्छ, मेरा लागि पढ्छस्, गधा ।” त्यसबेलासम्म मेरो रिस कम भइसकेको थियो । मैले अगाडिको बेन्चको विद्यार्थीलाई बोलाएर सोधेँ “के भन्छ यस्ले बुझिस् ? यसको बाउ को हो ?” उसले नजिकै आएर बिस्तारै भन्यो, “सर यो तल हनुमानथानमा बस्ने जोगिनीको छोरो हो ।” उसले चारैतिर हेरेर अझ कान नजिक आइ बोल्यो, “सर जोगीहरू तीन जना बस्थे । सबै भागिसके ।” मेरो दिमाग कटकट खान थाल्यो । के गरौँ, के भनौँ भयो । म विस्तारै ऊ नजिक गएँ । उसको टाउको सुमसुम्याएँ । मलाई चक्कर लाग्लाजस्तो भयो । ओठ थर्थराउँदै मैले भन्न खोजेँ, “हेर बाबु अब नभाग, तेरा बाआमा... ।” उसले कुरा काट्दै बिस्तारै भन्यो, “हाम्रा बा हुन्नन्, आमा हुन्छन् ।” टन्टन् दोस्रो घण्टी लाग्यो । म चुचाप मन्द गतिमा बाहिर निस्किएँ । तेज बतासको जोड झट्काले मलाई हल्लायो । बतासले आँगनको धुलो बराल्दै मेरो आँखा छोप्यो । म एकछिन तिल्मिलाएँ “ओहो....।”

त्यस दिनको कक्षा सकेर घर पुग्नेबित्तिकै मलाई हनहन ज्वरो आयो । चार÷पाँच दिनसम्म पनि ज्वरो नियन्त्रण हुन सकेन । अस्पतालमा गएर जचाउँदा मलाई टाइफाइड भइसकेको रहेछ । मैले एक महिना जति आराम गर्नुपर्ने भयो । म राम्रै गलिसकेको रहेछु । घरमा आराम गरी बसेको दुई हप्तापछि परीक्षाफल आयो । म पास भएको साथीले आवाद्वारा खबर ग¥यो । अब जतिसक्दो चाँडै ब्याचलरमा भर्ना हुन काठमाडौँ जानुपर्ने भयो । भोलिपल्ट बिदा हुन स्कुलमा पुगेँ । हेडसरले मेरो बिदाइको आयोजना गर्नुभएको थियो । बिदाइ गर्दा शिक्षक विद्यार्थीहरूको त्यो हुलमा उसलाई मैले खोज्ने प्रयास गरेँ तर मेरा आँखाले कतै पाउन सकेनन् । 

हप्ता दिनपछि बिहानको खाना खाएर बाटो लागेँ । हावामा झुलिरहेको सल्लेरी वन छेउ र झाडीबाट पटक–पटक फुत्तफुत्त निस्किँदै उड्दै गरेका चराहरू हेर्दै म एक रफ्तारमा हिँडिरहेको थिएँ । बिहानै वन पसेका महिला घाँसदाउराका भारी बोकी घर फर्किंदै थिए । गोठाला–गोठाल्नीहरू जङ्गलतर्फ बस्तुभाउ धपाउँदै थिए । पछाडि सानो झोला बोकेर म गुनगुनाउँदै लम्किरहेको थिएँ । 

विपरीत दिशाबाट केटाकेटीहरू चिच्याएको हल्ला कानमा प्रष्टिँदै आयो । एउटाको पछिपछि आठ÷दसजना केटाकेटीले लखेटिरहेको प्रष्ट देखेँ । अगाडिकोलाई कता–कता चिनेजस्तो लागेर अझ राम्ररी ठम्याउन खोजेँ । ऊ नजिकिँदै आयो । बल्ल चिनेँ ऊ नै रहेछ । च्यातिएका लुगा । नाकभरि सिँगान, हातखुट्टा र घाँटीमा मयलै मयल । ऊ असिनपसिन भएर दौडिरहेको थियो । हातमा ढुङ्गा लिएर ऊ हुत्तिँदै आयो । मेरो दूरीबाट २०–२५ कदम पर ऊ रोकिएर मलाई हे¥यो । आवेशपूर्ण मुखमुद्रा एवं तप्त नेत्र र उसको दुर्बल हालत देख्दा म खलबलिएँ । केटाकेटीहरूको हुलतर्फ ऊ फरक्क फक्र्यो र ढुङ्गा हान्यो । उनीहरू हच्किए । तर कसैलाई चोटपटक लागेन ।

म अरू केटाकेटीलाई हप्काउँदै दौडेँ । सबै लाखापाखा भइसकेपछि उसलाई बोलाएँ “यता हेर त, पख पख ।” ऊ बेतोडसँग दौडिहाल्यो । “पख न । मैले पाइला अगाडि बढाउन सकिनँ । पल्लो छेउको केतुकीको बोटमुनि ऊ रोकियो । म स्थिर भएर हेरिरहेँ । अनि उसले कराएर भन्यो, “हाम्रा बा हुन्नन् ।” एकछिन रोकिएर फेरि करायो “आमा हुन्छन्, आमा हुन्छन्, हाम्रा बा हुन्नन्, बा हुन्नन् ।” यति भनेर कमिजको खल्तीबाट आधा रोटी निकाल्यो । मलाई हेर्दै चपाउन थाल्यो । हावाको मन्दमन्द झोंकाले उसको धुस्रोफुस्रो कपाल लहराउँदा खेतमा पाक्न लागेको धानका बालाहरू झुलेको जस्तै सम्झेँ मैले । 

कतिपय कुरा कालकवलियतले गर्दा विस्मृतगर्भमा पुगेर पुनःस्मरणमा फर्कंदा पीडादायक भइदिँदा रहेछन् । म खिन्न मनस्थितिमा धेरै बेरसम्म उभिरहेँ । ऊ कुन बेला ओझेल भइसकेछ । म झसङ्ग भएँ “ओहो ! ढिलो भइसक्यो । आज बास बस्न फलाबाङ पुग्नुपर्छ ।” थोरै बाँकी रहेको सामलले बाटोलाई धकेल्दै म ओरालो लागेँ । बाटोमा एक्लै झर्दा उसको सुस्तसुस्त मन विलाप ध्वनि कानमा ठोक्किरह्यो, “हाम्रा बा हुन्नन्, हाम्रा बा हुन्नन्, आमा हुन्छन्, बा हुन्नन् ।”