काठमाडौं, असोज २७ गते । फुटवयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको छ ।
बिहीबार जुत्ता उत्पादक सङ्घ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष घिमिरेले राज्यले साना तथा घरेलु उद्योगहरूलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने अवस्थामा आफैँ नयाँ उद्योग खोल्न राम्रो नभएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले सरकारले आफैँ नयाँ उद्योग खोले निजी जुत्ताचप्पल उद्योगहरू बन्द गरेर बस्नुपर्ने बताउनु भयो । सरकारले उद्योगलाई नीतिगत रूपमा संरक्षण गर्ने भएकाले कुनै पनि देशमा सरकार आफैँ उद्योग र व्यवसायमा लाग्ने गरेको नदेखिएको घिमिरेको भनाइ छ ।
उहाँले वर्तमान अवस्थामा निजी नेपाली जुत्ता चप्पल उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको बताउनु भयो । अध्यक्ष घिमिरेले सरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशतभन्दा बढी सञ्चालन हुन नसकेको बताउनु भयो । घिमिरेले भएका उद्योग पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा राज्य आफैँले नयाँ उद्योग खोल्नु निजी उद्योगीहरूका लागि राम्रो नहुने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष घिमिरेले सरकार भएका उद्योगहरूको संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ उद्योग व्यवसायमा लागे जुत्ता उत्पादक सङ्घ नेपालले विरोध गर्ने पनि बताउनुभयो । पत्रकार सम्मेलनमा सङ्घले नेपाली जुत्ता उद्योग देशको मागलाई धान्नसक्ने उत्पादन क्षमताको विकास भएको बताएको छ ।
सङ्घले नेपालको दक्षिण सीमानाबाट हुने चोरी, पैठारी र कम मूल्यका कारण नेपाली जुत्ता उद्योगी व्यवसायीहरूलाई मार परेको जानकारी दिएको छ । खुला सीमानामा हुने जुत्ताचप्पल चोरी, पैठारी नियन्त्रणमा सरकार सशक्त रूपमा लाग्न माग गरेको छ । चोरीपैठारी रोकी ३० अर्ब बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउन सङ्घले सरकारसँग माग गरेको छ ।