• १२ मंसिर २०८१, बुधबार

चुनाव जित्न अर्को दलको चिह्न

blog

नारायण काफ्ले

काठमाडौँ, असोज २७ गते । विचार र सिद्धान्तमा दुई ध्रुवमा रहेका दलबीचको चुनावी तालमेल पछिल्ला वर्षमा झनै मौलाएको छ। चुनावी तालमेल मात्र होइन, चुनावको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेतामा अर्को दलको चुनाव चिह्नको सहारा लिने अभ्यास पनि बिस्तारै बढ्दै गएको छ। 

पटक–पटक मन्त्री र सांसद भइसकेका व्यक्तिसमेत अर्को दलको चुनाव चिह्नको सहारामा पुगेका छन्। पछिल्लो उदाहरण बनेको छ, एमालेको चुनाव चिह्न सूर्यबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाको उम्मेदवारी। थापाले गृह जिल्ला मकवानपुर–१ बाट सूर्य चिह्न लिएर मनोनयन दर्ता गर्नुभएको छ। 

थापा मात्र होइन, २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा हृदयेश त्रिपाठी र बृजेश गुप्ताले पनि सूर्य चिह्नबाट निर्वाचनमा भाग लिनुभएको थियो। त्रिपाठी नवलपरासी–१ बाट सूर्य चिह्नबाट निर्वाचित भए भने गुप्ता कपिलवस्तु–२ बाट निर्वाचित हुनुभएको थियो। गुप्ता औपचारिक रूपमा एमाले प्रवेश नै गरिसक्नुभएको छ। त्रिपाठी आफैँले जनता प्रगतिशील पार्टी गठन गरेर अहिले चुनावी मैदानमा हुनुहुन्छ।  

आगामी मङ्सिर ४ गतेको निर्वाचनमा डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट भाग लिँदैछ। प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार सिटमा माओवादी चिह्नमा नेपाल समाजवादीका उम्मेदवार मैदानमा छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अलग भएर बाबुरामले नयाँ पार्टी गठन गर्नुभएको थियो। 

बाबुरामको नयाँ दलले मात्र होइन, अघिल्लो पटकको वाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र)मा पनि माओवादी केन्द्र तथा एमालेको चुनाव चिह्नमा अन्य दलका उम्मेदवार मैदानमा उत्रिएका थिए तर कुनै पनि उम्मेदवारले सफलता हात पार्न सकेनन्। 

२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चन्द्रदेव जोशीको नेकपा संयुक्त, प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी र लोकमणि ढकालको जनजागरण पार्टी पनि माओवादीको चिह्नमा चुनाव लडेका थिए। २०७४ को चुनावमा तत्कालीन ३३ दलीय गठबन्धनले पनि माओवादीकै चुनाव चिह्नबाट चुनावमा भाग लिएको थियो।

यस्तै २०७४ मा प्रदेश र प्रतिनिधि सभामा परिवार दल एमालेको चुनाव चिह्नमा लडेको थियो। यस्तै २०७९ को स्थानीय तहमा पनि एमालेकै चुनाव चिह्नमा परिवार दलले भाग लिएको थियो।