• २१ असार २०८१, शुक्रबार

बाँकेमा वर्षाले धान बाली क्षति

blog

लगातारको वर्षाका कारण बाँके खजुरा गाउँपालिका सिमलघारीका किसानले लगाएको धान बाली पानीले भिजाएर क्षति । तस्बिर : राकेशकुमार मिश्र/रासस

नेपालगञ्ज, असोज २५ गते । केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ ।

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार छ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिनुभयो ।

त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डुबाएको छ । “अझै सबै स्थानीय तहको विस्तृत विवरण आएको छैन त्यसैले धान खेतीमा भएको क्षति बढ्न सक्छ”, ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले भन्नुभयो ।

उहाँले पानीसँगै आएको हावा र हुरीलेसमेत धान ढलेर अधिकांश धान खेती पानीमा डुबेर क्षति भएको बताउनुभयो । जिल्लामा स्थानीय किसानले उन्नत जातामा राधा ४ र विभिन्न हाइब्रिड जातका धान खेती गरेका छन् । केही ठाउँमा धान खेतीलाई बाढीले पनि प्रभावित गरेको बताइएको छ । बाँकेमा कूल खेतीयोग्य जमिन ३५ हजार हेक्टर रहेको छ ।