• १३ साउन २०८१, आइतबार

तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’

blog

अमरराज नहर्की

तनहुँ, असोज २४ गते। तनहुँमा ६ वटा  मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन्। मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ।

समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको छ। समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले १४२ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ६ अति संवेदनशील, ५२ वटा संवेदनशील ८२ वटा सामान्य रहेको जानकारी दिनुभयो। 

विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाएर मतदानस्थलको वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो। निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ। 

मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने प्रजिअ अर्यालले जानकारी दिनुभयो । संवेदनशील स्थलमा सुरक्षालगायत अन्य हिसाबले प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो। 

‘स्वच्छ,  शान्तिपूर्ण, भयरहित वातावरणमा मतदाताले मत खसाल्न पाउने गरी सुरक्षाको उचित प्रबन्ध मिलाएका छौँ’ प्रअिज अर्यालले भन्नुभयो। मतदान स्थललाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयलाई आधार मानेर वर्गीकरण गरिएको समितिले जनाएको छ । मतदान स्थलमा नेपाल प्रहरी, म्यादी प्रहरी र मोबाइल टोलीमा नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको अर्यालले जानकारी दिनुभयो। 

सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद आचार्यका अनुसार प्रतिनिधि सभाको दुई निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली र प्रदेश सभाको चार वटा निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ८/८ जनाको टोली परिचालन गरिने जानकारी दिनुभयो। यसैगरी सहायक सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ८ वटा टोली परिचालन गरिने उहाँले जानकारी दिनुभयो। 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जिल्लामा दुई लाख ४८ हजार ४९५ जना मतदाता रहेको जानकारी दिनुभयो। स्थानीय तह निर्वाचनपछि जिल्लामा चार हजार १५५ मतदाता थपिएको उहाँले बताउनुभयो। तनहुँमा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० र तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २५ हजार ५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।