• २१ असार २०८१, शुक्रबार

लगातारको झरीले धानबालीमा क्षति

blog

मेलम्ची, असोज २५ गते । अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दशैंको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण धानबालीमा क्षति पुगेको हो । लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् ।

हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले दशैं लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् । धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्ची नगरपालिका–५ भरतमणि सिग्देलले बताउनुभयो ।

“दशैं मनाएलगत्तै धान काट्न हुने भइसकेको थियो, तर अहिले पाकेको धान काट्न नपाउँदै लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता सबैमा छ”, मेलम्ची– ५ का राजेन्द्र ढकालले भन्नुभयो ।

वर्षाले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदो बालीमा समेत क्षति पुर्‍याइएको छ । जिल्लाका अधिकांश किसानले लगाएको धान तथा कोदो बालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानलाई चिन्ता थपिएको छ ।

लगातारको वर्षाले जिल्लाको अधिकांश क्षेत्रमा धानबालीमा क्षति पुर्‍याएको छ । अझै पनि पानी पर्ने सङ्केत देखिएकाले धान काट्न डराउनुपर्ने अवस्था रहेको मेलम्ची–९ का किसान कृष्णबहादुर खड्काले बताउनुभयो ।

मौसम खुल्नेबित्तिकै धान काट्ने चटारो रहेको उहाँले बताउनुभयो । जिल्लामा विशेषगरी बास्मती, खुमल ४, मन्सुली र हाइब्रिट प्रजातिको धान लगाउने गरिन्छ ।