• १३ साउन २०८१, आइतबार

पहिरोले सडक अवरुद्ध

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), असोज २५ गते । एक हप्तादेखि निरन्तर परेको भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा म्याग्दीका प्रायःजसो सडक अवरुद्ध बनेका छन्। सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ। सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन्। 

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक बीच बाटोमै अलपत्र परेका छन्। ग्रामीण भेगलाई जोड्ने अधिकांश सडक पनि वर्षाका कारण ठप्प हुँदा दशैँ मनाउन गाउँ पुगेका सर्वसाधारण जोखिम मोलेर तथा घण्टौँसम्म पैदलयात्रा गरेर गन्तव्यमा पुग्ने गरेका छन्।  

सदरमुकाम बेनीदेखि स्थानीय तह जोड्ने मुख्य सडकहरू एक हप्तायता ठप्प बनेका छन्। वर्षा अझै नरोकिएका कारण सडक खुलाउन समस्या भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो। 

उहाँका अनुसार बेनी–जोमसोम सडकको बैसरी र दानाको काभ्रेलगायतका धेरै ठाउँमा सडक माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध बन्ने गरेको छ। सडक खुलाउने प्रयास भए पनि वर्षा नरोकिएकाले समस्या भएको उहाँको भनाइ छ। 

बेनीदेखि पश्चिम मङ्गला, मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ–ताकम–मुना सडकको विभिन्न स्थानमा पहिरो खसेका कारण खुलाउन समस्या भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो।

बेनी नगरपालिका–४ स्थित तातोपानीको फापरखेत, मालिका गाउँपालिका–६ स्थित बाङ्गे पहिरोमा सडक अवरुद्ध हुने गरेको छ। बेनी–पाखापानी सडक, बेनी–मौवाफाँट–दग्नाम–चिमखोला हुँदै कुइनेमङ्गलेलगायत ग्रामीण भेग जोड्ने सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेनी–मालढुङ्गा सडक खण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिका–७, केराबारीमा सडक माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा उत्पादित कृषिउपज बजार ल्याउन समस्या भएको छ । त्यस्तै बजारबाट दैनिक उपभोग्य वस्तुहरू ग्रामीण भेगमा ढुवानी गर्न, बिरामी तथा सुत्केरी महिलालाई अस्पतालसम्म पु¥याउन र सरकारी कामकाजका लागि सदरमुकाम पुग्न सर्वसाधारणलाई सास्ती भएको छ।