• १५ वैशाख २०८१, शनिबार

आईएमई लुटपाट गर्ने सार्वजनिक

blog

प्रहरीद्वारा सार्वजनिक गरिएको लुटपाटका आरोपी र लुटिएको गरगहना तथा नगद । तस्बिर : चन्द्र पन्दाक ।

ताप्लेजुङ, असोज २५ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमई लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ । फुङ्लिङ बजारको वीरेन्द्रचौकस्थित कञ्चन मनि ट्रान्सफरमा लुटपाट मच्चाउनेमध्ये तीन जनालाई सोमबार साँझ प्रहरीले सार्वजनिक गरेको हो । 
प्रहरीद्वारा सार्वजनिक गरिएकामा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भनिने राजायन्द्र पर्तेल, झापाको शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र अर्जुनधारा नगरपालिका–१० का मणिराज पर्तेल रहेका छन् । राजायन्द्र घटना भएकै दिन र सुनार दोस्रो दिन फुङ्लिङबाट पक्राउ परेका थिए भने मणिराज तीन दिनपछि झापाबाट पक्राउ परेका थिए । 
आईएमई लुटपाट घटनामा संलग्न चार जनामध्ये एक जना अझै फरार रहेका र निजको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट बरामद भएको अर्थात् आईएमईबाट लुटिएको एक सय ४३ तोला सुनका गहगहाना र छ लाख १३ हजार ३४० रुपियाँ नगदसमेत सार्वजनिक गरेको छ । उनीहरूले प्रयोग गरेको एक थान पेस्तोलसमेत सार्वजनिक गरिएको छ ।
पक्राउ परेका तीनै जना लागू औषधको प्रयोगकर्ता भएका पाइएको पनि पत्रकार सम्मेलनमा ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । प्रनाउ राईका अनुसार जाकट (बन्दक) राखेको सुनको गहना उकास्ने बहानामा आईएमईमा कार्यरत एक महिला कर्मचारीलाई नियन्त्रणमा लिई  योजनाबद्ध लुटपाट गरिएको छ । उक्त समूहले दसैँको अष्टमीको दिन अर्थात् गत साताको सोमबार बिहान करिब ९ः२१ बजे आईएमईमा लुटपाट मच्चाएका थिए । 
पक्राउ परेकामाथि डाका कसुरको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट आइतबार थप १० दिनको म्याद लिएर अनुसन्धानको कार्य भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । आईएमईका सञ्चालक अमरकुमार श्रेष्ठले भने तीन सय ४८ तोला सुनको गरगहना र नगद ११ लाख ६३ हजार २५० रुपियाँ लुटिएको भनी प्रहरीमा जाहेरी दिनुभएको बताइएको छ । सञ्चालक श्रेष्ठ श्रीमती मैया श्रेष्ठसहित दसैँको विदाको समयमा अस्ट्रेलिया भ्रमणमा गएको समयमा लुटपाटको घटना भएको हो ।
Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।