• १३ साउन २०८१, आइतबार

उम्मेदवार बन्नकै लागि पार्टी परिवर्तन

blog

राधाकृष्ण डुम्रे 

वालिङ, असोज २५ गते  । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवार बन्नका लागि धेरैले आफ्नो पार्टी नै परिवर्तन गरेका छन् भने कतिपयले विद्रोही बनेर उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसबाट राप्रपा प्रवेश गरेका लालगोपाल अर्यालले स्याङ्जा २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।

उहाँ कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला उपसभापति हुनुहुन्छ। २०७४ सालको स्थानीय तहमा कांग्रेसबाट गल्याङ नगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गर्नुभएको थियो। पूर्वगाविस उपाध्यक्ष सागर गैह्रे राप्रपा प्रवेश गरेर स्याङ्जा २ को (क) बाट उम्मेदवारी दिनुभएको छ।

उहाँ पनि कांग्रेसका पुराना नेता हुनुहुन्छ । यस्तै २ (ख)मा पनि कमलप्रसाद डुम्रेले राप्रपाबाट उम्मेदवारी दिनुभएको छ। उहाँ पनि कांग्रेस निकट रहनुभएको थियो। २ बाट कपिलदेव न्यौपानेले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ।

नेकपा एमाले गण्डकी प्रदेश सदस्य न्यौपाने युवा तथा खेलकुद विभागको प्रमुखसमेत रहनुभएको थियो। उहाँले एक दिन अगाडि पार्टी छोडेर उम्मेदवारी दिनुभएको हो। यस्तै ढालप्रसाद पाण्डे र सागर ढकालले पनि सङ्घमा नै स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। उहाँहरू दुवै कांग्रेस निकट मानिनुहुन्छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका टिकराज गुरुङ यसअघि एमाले निकट मानिनुहुन्थ्यो। यस्तै कांग्रेस बीपीबाट उम्मेदवारी दिनुभएका गणेशप्रसाद पाण्डेयले पनि कांग्रेस छोड्नुभएको छ। 

स्याङ्जा क्षेत्र नम्बर १ मा पनि पार्टी परिवर्तन गरेर उम्मेदवारी दिनेको सङ्ख्या धेरै छ। कांग्रेसबाट गाउँपालिकामा उम्मेदवारसमेत भइसकेका प्रदीपकुमार पौडेल बीपीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ। 

यस्तै एमालेका सोमबहादुर नेपालीले हाम्रो नेपाली पार्टी र निर्मल आलेले मङ्गोल नेसनल अर्गनाइजेसन, एमालेका सक्रिय नेता विष्णु गिरीले एकीकृत समाजवादीबाट उम्मेदवारी दिनुभएको छ। 

कांग्रेस पृष्ठभूमिका बोधराज रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट र हरि नेपालले मौलिक जरोकिलो पार्टीबाट उम्मेदवारी दिनुभएको छ। कांग्रेस महासमिति सदस्य तथा युवा नेता गोविन्दबहादुर रानाभाटले स्वतन्त्र रूपमा सङ्घमा उम्मेदवारी दिनुभएको छ। एमालेका सक्रिय नेताहरू भुवनसिंह थापाले जनमुक्ति पार्टीबाट, तीर्थ गुरुङले मङ्गोल नेसनल अर्गनाइजेसनबाट र मकबुल मियाँले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएको छ। गठबन्धनको केन्द्रमा भएको सहमतिअनुसार क्षेत्र नम्बर १ क नेकपा माओवादी केन्द्र र क्षेत्र नम्बर २ को क मा नेकपा समाजवादीले उम्मेदवारी दिने सहमति भएको थियो। 

योबाहेक दुई सङ्घीय र प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले प्रतिस्पर्धा गर्ने सहमति भएको थियो। सबै क्षेत्र र प्रदेशमा कांग्रेसले उम्मेदवारी दिएपछि नेकपा समाजवादीले पनि धेरै क्षेत्रमा उम्मेदवारी दिएको छ। 

क्षेत्र १ को प्रदेश क मा कांग्रेसका मेखलाल श्रेष्ठ र माओवादी केन्द्रका अमृता थापा दुवैको उम्मेदवारी परेको छ। क्षेत्र नं. २ क मा पनि कांग्रेसका भोजराज अर्याल र एकीकृत समाजवादीका रामचन्द्र भट्टराईको उम्मेदवारी परेको छ। यस्तै क्षेत्र नं. १ को प्रतिनिधि सभाका लागि समाजवादीका विष्णु गिरी र माओवादी केन्द्रका ईश्वरप्रसाद पौडेलले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ। सोही क्षेत्रको प्रदेश ख मा शर्मिलादेवी पौडेल क्षेत्रीले समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएको छ।