भक्तपुर, असोज २५ गते । आसन्न निर्वाचनका लागि भक्तपुरमा राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या दोब्बर रहेको छ। भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेशमा सभा गरी १९ वटा राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ भने स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या ३८ रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टीलगायत राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो। स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेमा यसअघि विभिन्न राजनीतिक पार्टीमा आबद्ध भएका र नागरिक समाजमा लागेका व्यक्ति छन्।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २५ हजार २८ जना मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख ९४ हजार ४३९ गरी यो जिल्लामा कुल मतदाताको सङ्ख्या दुई लाख ९६ हजार ९७६ जना रहेको कार्यालयले जानकारी दिएको छ। दुईवटै निर्वाचन क्षेत्रमा गरी २२२ वटा मतदात केन्द्र छन्।